News Griha :: न्यूजगृह
फ्रान्स र सर्बिया पठाइदिने नाममा ५२ लाख ठगी, दुई पक्राउ 

काठमाडौं— फ्रान्स र सर्बिया पठाइदिने नाममा ५२ लाखभन्दा बढी रकम ठगी भएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार यसरी ठगी गर्ने दुई जनालाई पक्राउ गरिएको छ ।

पक्राउ पर्नेमा भक्तपुरको सूर्यविनायक नगरपालिका–१३ सल्लाघारी बस्ने ५० वर्षीय सुरेशकुमार पाख्रिन र सर्लाहीको हरिवन नगरपालिका–५ घर भई हाल काठमाडौं बस्ने निरोज बुढाथोकी रहेका प्रहरी उपरीक्षक मिलन केसीले जानकारी दिए ।

पाख्रिनले वैदेशिक रोजगारीका लागि फ्रान्स पठाइदिन्छु भनी फूर्पा शेर्पासमेत चार जनाबाट ४० लाख असुलेको पाइएको छ ।

उनले जानका लागि प्रतिव्यक्ति १७ लाख लाग्ने र फ्रान्स पुगेपछि प्रतिष्ठित कम्पनीमा काममा लागेपछि त्यहाँबाट मासिक एक लाखभन्दा बढी तलब हुने प्रलोभनमा पारी पटक–पटक गरी पीडितबाट ४० लाख लिएको खुलेको उनले बताए ।

पैसा लिएपछि सम्पर्कविहीन भएका उनलाई वैदेशिक रोजगार विभागबाट खोजीका लागि पत्राचार भएअनुसार खोजतलास गर्नेक्रममा ललितपुरको पुल्चोकबाट मंगलबार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उता सर्लाहीका बुढाथोकीले प्रमोद सिटौलासमेत चार जनालाई वैदेशिक रोजगारीका लागि सर्बिया पठाइदिन्छु, त्यसका लागि प्रतिव्यक्ति पाँच लाख ५० हजार लाग्ने भनी रकम उठाएको पाइएको छ ।

यसरी पीडितबाट उनले १२ लाख लिएर फरार भएका प्रहरीले जनाएको छ । उनलाई काठमाडौंको सिनामंगलबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

दुवै जनालाई थप अनुसन्धान तथा कारबाहीका लागि मंगलबार नै वैदेशिक रोजगार विभाग पठाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: बुधबार, जेठ १७, २०८०  ०६:४०
Weather Update