
काठमाडौं— उपसभामुख इन्दिरा रानाले महिला सशक्तीकरण गर्न राजनीतिक स्तरबाट मात्र नभइ अन्य तहबाट पनि प्रयासहरू हुनुपर्ने बताएकी छन् ।
महिला सशक्तीकरण नेपालले मंगलबार काठमाडौंमा आयोजना गरेको ‘राजनीतिमा आदिवासी महिलाको सहभागिता’ विषयक अन्तरक्रियामा उनले भनिन्, ‘जनजाति महिलाहरू पढ्नुपर्यो । मिहिनेत गर्नुपर्यो । लोकतन्त्रले गर्दा गरिबका छोराछोरी पनि राष्ट्रपति हुने मौका पाएका छौँ ।’ उनले दुवै खुट्टा गुमाएका सगरमाथा आरोही हरिबहादुर बुढामगरको उदाहरण दिँदै आफ्नो इच्छाशक्ति भए काम गर्न सकिने बताइन् ।
नेसपा उपाध्यक्ष एवं पूर्वमन्त्री हिसीला यामीले आदिवासी र लैंगिकताको प्रश्न संरचनागत प्रश्न रहेको उल्लेख गरिन् । आदिवासीले संरचनागत रूपमा हस्तक्षेप गरेमात्र अधिकार प्राप्त हुने उनको भनाइ छ ।
यस्तै, नेकपा एमाले सांसद ईश्वरी घर्तीमगरले लडाइँ झगडामा मात्र आदिवासी महिलाको प्रयोग हुने गरेको बताइन् । ‘आदिवासी महिलालाई लडाउने, भिडाउने काममा मात्र प्रयोग गरेको पाइन्छ,’ उनले भनिन्, ‘नेतृत्व स्थापित गर्ने सन्दर्भमा नातावाद र कृपावादले पछाडि पारिन्छ ।’ उनले राजनीतिमा आदिवासी महिला झिकाउन गाह्रो हुने त्यसमा पनि टिकाउन समस्या रहेको उल्लेख गरिन् ।
महिला सशक्तीकरण नेपालकी अध्यक्ष रश्मिला प्रजापतिले राजनीतिमा आदिवासी महिलाको सहभागिता न्यून रहेको बताइन् । ‘अहिले हामी आदिवासी अधिकारप्रति सचेत हुँदै गरेका छौँ,’ उनले भनिन्, ‘आफ्नोे राजनीतिक दलभित्र निर्णायक तहमा पुग्न सकेका छैनौँ । यसैमा केन्द्रित रहेर आजको अन्तरक्रियात्मक कार्यक्रम आयोजना गरेका हौँ ।’
सो अवसरमा ‘राजनीतिमा आदिवासी महिलाको सहभागिता’ विषयक कार्यपत्र प्रस्तुत गरिएको थियो ।
कार्यक्रममा नेकपा एमालेकी सरस्वती सुब्बा, उर्मिला थेबे, शान्ति चौधरी, रणकुमारी बलम्पाकी मगर, आश्मा कुमारी चौधरी र बन्दिपुर गाउपालिकाकी उपाध्यक्ष पञ्चमाया गुरूङलगायतको उपस्थिति थियोे ।