
काठमाडौं— सरकारले नेपाल-भारत जोड्ने रक्सौल—वीरगन्ज—सिमरा नाकाको वैकल्पिक सम्भाव्यताका लागि भारत सरकारसँग छलफल गर्ने भएको छ ।
मंगलबार सिंहदरबारमा पत्रकार सम्मेलन आयोजना गर्दै परराष्ट्रमन्त्री नारायणप्रसाद साउदले रक्सौल—वीरगन्ज—सिमरा नाका धेरै व्यस्त हुने भएकाले यस मार्गको विकल्पमा अर्को मार्गसहितको नयाँ नाकाका बारेमा भारत सरकारसँग सम्भाव्य स्थानहरूको बारेमा छलफल गर्ने बताएका हुन् ।
नेपालगञ्ज (रुपैडिया), भैरहवा (सुनौली) र विराटनगर (जोगवनी) लगायतका अन्य नाकाहरू पनि चलायमान बनाउने बारेमा छलफल भइरहेको बताए ।
उनले भ्रमणबाट सकारात्मक उपलब्धि हासिल हुने विश्वास व्यक्त गरे । उनले नेपालको सुदूरपश्चिम र उत्तराखण्ड जोड्नका लागि पक्की पुल निर्माणको कामका बारेमा पनि प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणमा छलफल हुने बताए ।
प्रधानमन्त्रीको भ्रमणपछि दुवै देशको सम्बन्ध थप बलियो हुने विश्वास उनले व्यक्त गरे । परराष्ट्रमन्त्री साउदले विद्युत् आयोजनामा भारतीय लगानी आकर्षित गर्ने, नेपालका ट्रान्समिसन लाइन निर्माण गरी विद्युत् व्यापारको वातावरण बनाउने, भारतसँगै बंगलादेशसँगको विद्युत् व्यापार गर्ने कुरामा पनि सरकारको जोड रहने बताए ।
भ्रमणमा नेपालमा विद्युत् बिक्री हुने बजारलाई मध्यनजर गरेर भारतसँग लङ टर्म पावर डिल गर्ने प्रयास हुने उनको भनाइ छ ।
परराष्ट्रमन्त्री साउदले नेपाल र भारत सरकारबीच विभिन्न कालखण्डदेखि थाँती रहेका सीमादेखि अन्य मुद्दाहरूमा छलफल हुने बताए ।
यो पनि
‘प्रधानमन्त्रीले भारतीय राजदूतलाई बोलाएर सोध्नुपर्छ, नेपालको स्वार्थ बाझिए भ्रमण रद्द गर्नुपर्छ’
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा बुधबारबाट तीन दिने भ्रमणमा भारत जान लागेका प्रधानमन्त्री दाहालले भारतीय समकक्षी मोदीसँग द्विपक्षीय वार्ता गर्नेछन् ।
प्रधानमन्त्री दाहालले भारत भ्रमणका क्रममा भारतीय राष्ट्रपति द्रौपदी मुर्मू, उपराष्ट्रपति जगदीप धनखडसँग पनि शिष्टाचार भेट गर्ने कार्यक्रम छ । प्रधानमन्त्री दाहालको भारत भ्रमणमा परराष्ट्रमन्त्री नारायणप्रसाद साउद, अर्थमन्त्री डा. प्रकाशशरण महत, ऊर्जा, जलश्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेत, भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजाल सहभागी बन्नेछन् ।