
काठमाडौं— प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणबारे प्रश्न सोध्न पत्रकारलाई परराष्ट्र मन्त्रालयले रोकेको छ ।
प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणबारे जानकारी दिन मंगलबार परराष्ट्र मन्त्रालयले पत्रकार सम्मेलनको आयोजना गरेको थियो । जसअनुसार कूटनीति बिटमा रिपोर्टिङ गर्ने पत्रकारलाई सिंहदरबारस्थित मन्त्रालयमा बोलाइएको थियो । पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्री एनपी साउद आफैँ उपस्थित थिए । तर, पत्रकार सम्मेलनमा पत्रकारलाई प्रश्न सोध्न दिइएन । मन्त्री आफूमात्र बोले ।
प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणको पूर्वसन्ध्यामा अखण्ड भारत नक्सा प्रकरण सार्वजनिक भएको छ । यस विषयमा प्रधानमन्त्रीले भारतीय राजदूतलाई बोलाएर सोध्नुपर्ने र जवाफ चित्त नबुझे भारत भ्रमणसमेत रद्द गर्नुपर्ने आवाज उठिरहेको छ । पत्रकार सम्मेलनमा मन्त्री साउदले प्रधानमन्त्रीको भारत भ्रमण ट्रेड र ट्रान्जिट बारे छलफल हुने जानकारी दिए ।
यो पनि पढ्नुहोस
उनले नक्सा विवादबारे बोलेनन् तर, सीमाको बारेमा नेपालको धारणा राख्ने बताए । भारतले अतिक्रमण गरेको भूभाग कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटेर नेपालले राजनीतिक नक्सा जारी गरे पनि भूमि फिर्ता ल्याउने विषयमा ठोस प्रगति भएको छैन । यस विषयमा प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणमा कुरा हुने अनुमान गरिएको थियो ।
यसअघिका प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणको बेला पनि यी विषयमा कुनै छलफल भएको थिएन ।