News Griha :: न्यूजगृह
रेशम चौधरीलाई आममाफी दिने सरकारको निर्णयमा एमालेको आपत्ति 

काठमाडौं— प्रमुख प्रतिपक्षी नेकपा एमालेले जन्मकैदको सजाय भोगिरहेका पूर्वसांसद रेशम चौधरीलाई गणतन्त्र दिवसका दिन राष्ट्रपतिबाट आममाफी दिन सरकारले सिफारिस गर्ने निर्णयमा आपत्ति जनाएको छ ।

एमालेका सचेतक महेश बर्तौलाले चौधरीलाई आममाफी दिने सरकारको निर्णय स्वीकार्य नहुने बताएका छन् । सचेतक बर्तौलाले सर्वोच्च अदालत, उच्च अदालत र जिल्ला अदालतले जन्मकैदको सजाय दिएको चौधरीलाई सत्ता टिकाउनका लागि आममाफी दिने निर्णय गरेकाे बताए ।

आइतबार संघीय संसद् भवन परिसरमा सञ्चारकर्मीले राखेका जिज्ञासाको जवाफमा उनले पीडितलाई थप पीडित बनाउने गरी सरकारले कानुनी राज्यको खिल्ली उडाएकाे बताए ।

उनले भने,‘संविधानमा कहीँ कतै आममाफीको व्यवस्था होला । कतिपय अवस्थामा सरकारले चाहेको अवस्थामा सजाय माफी दिनसक्छ । तर व्यवस्थालाई दुरुपयोग गरेर, कानुनी राज्यलाई खिल्ली उडाउँदै सबै हिंसाका घटनालाई सत्तासँग जोड्ने प्रवृत्तिको एमालेले घोर विरोध गर्छ । त्यसकारण यो विषयमा गम्भिरताका साथ सरकारले ख्याल गर्नुपर्छ । किमार्थ राम्रो विषय होइन । यो स्वीकार गर्न सकिने विषय होइन ।’

सचेतक बर्तौलाले हिंसात्मक घटनालाई राजनीतिक बनाएर गलत नजिर बसाउने काम नगर्न पनि सरकारलाई सचेत गराए ।

 

प्रकाशित मिति: आइतबार, जेठ १४, २०८०  १७:५०
Weather Update