News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner
भारतको ल्याङल्याङले बनेन १३ वर्षमा अन्तरदेशीय रेलमार्ग

काठमाडौं— भारतीय सहयोगमा बन्न लागेका पाँच रेलमार्गमध्ये दुईको काम सुरु भएपनि तीन वटाको सुइँको छैन ।  

भारत–नेपाललाई अन्तरदेशीय रेलमार्गले जोड्न दुई सरकारबीच रेलमार्ग बनाउने विषयमा १३ वर्षअघि सम्झौता भएको थियो । जसअनुसार जयनगर–बिजलापुर–बर्दीबास तथा जोगवनी–विराटनगर रेलमार्ग बनाउने सहमति थियो ।

Rail11685273348.jpg

Prabhu Bank

२०७३ सालमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणमा थप तीन वटा रेलमार्ग बनाउने सहमति भयो । नेपालगञ्ज–नेपालगञ्ज सडक, काँकडभित्ता–जलपाईगुडी भैरहवा–नौतनवा रेलमार्ग बनाउने सहमति भएको ७ वर्षपछि फेरि प्रधानमन्त्री प्रचण्ड भारत भ्रमणमा जाँदैछन् ।

पाँच वटा रेलमार्ग बनाउने कुरा दुई सरकारबीच कागजमा मात्रै सिमिति भएको छ । रेल विभागका प्रवक्ता अमन चित्रकारले न्यूजगृहसँग भने,‘पाँचवटा रेलको लागि एमओयु भएको हो । दुई वटा रेलमार्गको काम त सुरु भएको छ । पछिल्लो तीन वटाको त विभागलाई समेत पत्तो छैन ।’ 

१७ जेठमा प्रधानमन्त्री दाहाल भारतको औपचारिक भ्रमणमा जाँदै छन् । यो पटक पनि अन्तरदेशीय रेलमार्गको विषयमा छलफल हुन सक्छ । पुरानो सम्झौता पूर्णरुपमा कार्यान्वयन नभइसकेको परिस्थितिमा थप छलफल हुनेमा आशंका गर्न सकिन्छ । रेलमार्ग आयोजना पनि पञ्चेश्वर जस्तै हुने हो की भन्ने संशयसमेत देखिन्छ । 

कस्तो छ प्रगति विवरण

जयनगर–बर्दीबाससम्मको रेलमार्गमध्ये ५२ किलोमिटर रेलको ट्रयाकको काम सकिएको छ । जयनगरदेखि महोत्तरीको भङ्गाहा नगरपालिकासम्म मात्र रेलको ट्रयाक खोलिएको छ । बिजलपुरा नभई भङ्गाहासम्म रेलको परीक्षण भइसकेको महोत्तरीका सहायक प्रमुख जिल्ला अधिकारी उपेन्द्र न्यौपाने बताउँछन् ।

अहिले जयनगरदेखि कुर्थासम्म रेल सञ्चालन हुँदै आएको छ । सोही रेलमार्ग भङ्गाहा, बिजलापुर बर्दिबाससम्म पुग्नुपर्ने हो । तर रेलमार्गको लागि चाहिने जग्गा प्राप्तिको काम सकिएको छैन । मुआब्जा वितरण गर्न बाँकी छ । सहायक सीडीओ न्यौपाने भन्छन्,‘मुआब्जाको काम सकिसकेको छ । कोही कोही चित्त नबुझ्ने अझै छन् । ती पनि विस्तारै समाधान हुन्छन् ।’ 

rail-janakpur station1685273348.jpg

जयनगर–बर्दीबास रेलमार्गको स्टेसन बर्दीबासमा हुनेछ । नेपाल सरकार आफैंले बनाउन लागेको पूर्व–पश्चिम जोड्ने मेची महाकाली रेलमार्गको स्टेसन पनि बर्दीबास नै हुनेछ । तर भारतीय पक्षले ढिला काम गरिदिँदा रेलमार्ग बल्ल कुर्तासम्म मात्र आइपुगेको हो ।

कुर्थाबाट बिजलपुरा १७ किलोमिटरको दूरीमा छ । जयनगर–बर्दीबास रेलमार्ग ६८.७२ किलोमिटरको हो । उक्त रेलमार्गमा ११० किलोमिटर प्रतिघण्टाको दरले रेल चल्न सक्छ । जसले एक हजार यात्रु बोक्नेछ । कुर्था–जयनगरको रेलमार्गको तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको चैत २०७८ मा भारत भ्रमणको दौरान उद्घाटन भएको थियो ।

मुआब्जामा कुरो नमिल्दा रेलको काम अड्कियो

जोगवनी–विराटनगरमा जोगवनीदेखि पर पाँच किलोमिटरसम्म काम सम्पन्न भएको छ । रेलको ट्रयाक खोल्ने काम मोरङको कटहरी गाउँपालिकासम्म पुगेको छ । तर ट्रयाक बनाउन चाहिने छ बिगा जग्गाको टुङ्गो छैन ।

जग्गाधनीलाई सरकारले दिएको मुआब्जा चित्त नबुझेपछि जग्गा प्राप्तिमा अवरुद्ध भएको छ । मोरङका सहायक प्रमुख जिल्ला अधिकारी प्रदिप साहले मुआब्जाको कारणले रेलको जक्सनको पूर्वाधार बनाउने काम रोकिएको बताए । भन्छन्,‘जग्गाधनीहरू सरकारले दिएको मुआब्जा चित्त नबुझेर सर्वोच्च अदालत गएका थिए । सर्वोच्चमा केस गएकाले जग्गा प्राप्तिको काम रोकिएको छ । त्यसैले रेलको पूर्वाधार बनाउने काम पनि रोकिएको छ ।’

यसरी पाँच वटा रेलमार्गको सम्झौता भएपनि नेपाल सरकार र भारत सरकार दुवै गम्भीर नहुँदा रेलमार्गको काम अगाडि बढ्न नसकेको प्रष्टै हुन्छ । सम्झौतामा भारत सरकारले रेलमार्गको लागि चाहिने आर्थिक र प्राविधिक सहयोग व्यवस्थापन गर्ने र नेपालले भन्सार छुट तथा जग्गा प्राप्तिको व्यवस्था मिलाउने उल्लेख छ ।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: सोमबार, जेठ १५, २०८०  ०८:२७
sagarmatha cementsagarmatha cement
Weather Update