News Griha :: न्यूजगृह
जिल्ला प्रशासन सुनसरीले जारी गर्‍यो १२ हजार बढी नयाँ नागरिकता

सुनसरी— जिल्ला प्रशासन कार्यालय सुनसरीले चालु आर्थिक वर्षको नौ महिनामा १२ हजार एक सय ७७ थान नयाँ नागरिकता जारी गरेको छ ।

कार्यालयले चालु आर्थिक वर्षको साउनदेखि चैत मसान्तसम्ममा सो सङ्ख्यामा नयाँ नागरिकता जारी गरेको सुनसरीका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले जानकारी दिइन् ।

कार्यालयले सोही अवधिमा ११ हजार तीन सय ३९ थान नागरिकताको प्रतिलिपि वितरण गरेको छ । चालु आवको पहिलो नौ महिनामा नयाँ नागरिकता र नागरिकताका प्रतिलिपि गरी कुल २३ हजार पाँच सय १६ थान नागरिकता वितरण भएको प्रजिअ पाण्डेले बताइन् ।

यो अवधिमा तीन सय ८५ वटा मुद्दा दर्ता भएका छन् भने दुई सय ४४ मुद्दा फछ्र्योट भएको उनले जानकारी दिइन् । प्रशासनले जारी गरेको प्रगति विवरणानुसार जिल्ला प्रशासन कार्यालयमार्फत पछिल्लो नौ महिनाको अवधिमा ११ हजार तीन सय नौ वटा राहदानी वितरण गरेको छ ।

त्यसैगरी राहदानीका लागि १६ हजार ९२ थान निवेदन दर्ता भएका छन् भने ६६ वटा राहदानी विभागमा सिफारिस गरिएको छ । त्यसैगरी सोही अवधिमा प्रशासनमार्फत जम्मा २० लाख १३ हजार सात सय ५० बराबरको राहत वितरण गरेको छ भने असहाय एवम् विपन्न परिवारका पाँच सय ३५ जनालाई कम्बल वितरण गरेको उनले बताइन् ।

सोही अवधिमा २४ वटा बजार अनुगमन, १३ वटा सार्वजनिक निकायको अनुगमन, सुरक्षा निकाय ३९ र जिल्ला सुरक्षा समिति ३२ वटा अनुगमन गरेको प्रजिअ पाण्डेले बताइन् ।

यता विकास आयोजनातर्फको अनुगमन शून्य छ भने सुरक्षा निकायको ३९ पटक अनुगमन गरिएको छ । यही अवधिमा जिल्लामा जम्मा एक सय १२ नयाँ संस्था दर्ता भएका छन् भने चार सय २६ वटा संस्था नवीकरण भएको प्रजिअ पाण्डेले बताइन् ।

प्रकाशित मिति: आइतबार, जेठ १४, २०८०  ०८:२५
Weather Update