News Griha :: न्यूजगृह
बालमैत्री बन्यो गलकोट नगरपालिका

गलकोट— बागलुङको गलकोट नगरपालिका गण्डकी प्रदेशको तेस्रो बालमैत्री नगर घोषणा भएको छ । बालमैत्री स्थानीय शासन राष्ट्रिय रणनीतिमा व्यवस्था भएका ५१ सूचक पूरा गर्दै नगरपालिका बालमैत्री पालिका घोषणा भएको हो । नगरपालिकाका ११ वटै वडा बागलमैत्री वडा घोषणा भएका छन् । 

पालिकाका सबै वडा बालमैत्री वडा घोषणा भएपछि प्रदेशका सामाजिक विकास तथा स्वास्थ्यमन्त्री सुशीला सिङ्खडाको प्रमुख आतिथ्यतामा शनिबार गलकोट नगरपालिकाले आयोजना गरेको कार्यक्रममा गलकोटलाई बालमैत्री नगर घोषणा गरिएको नगरपालिका कार्यालयले जनाएको छ । बालमैत्री नगर घोषणासँगै जिल्लाका १० पालिकामध्ये गलकोट पहिलो बालमैत्री पालिका बनेको छ । 

नगरपालिकाले बालमैत्री नगर घोषणाका लागि विसं २०७७ मङ्सिरदेखि ५१ सूचक पूरा गर्नका लागि आवश्यक पूर्वाधार, अभिमुखीकरणलगायत काम सुरु गरेको थियो । पालिकाले तीन वर्षदेखि ११ वडालाई बालमैत्री वडा घोषणा गर्नका लागि प्रत्येक वडामा एकजनाका दरले ११ जना सहजकर्ता र एक जना अधिकृत खटाएर काम गरिरहेको नगर प्रमुख भरत शर्मा गैरेले जानकारी दिए । 

बालमैत्री नगर घोषणाका लागि शिक्षा, स्वास्थ्य, खानेपानी र पूर्वाधारलगायत ५१ सूचक पूरा गरेर जिल्ला समन्वय समिति र प्रदेश सरकारबाट प्रमाणित भएपछि आज बालमैत्री नगरका रूपमा घोषणा गरिएको उनले बताए ।

नगरपालिकाले बालमैत्री पूर्वाधार र कार्यक्रमका लागि हालसम्म रु दुई करोड ५० लाख खर्च गरिसकेको छ । उनका अनुसार आगमी दिनमा निर्माण हुने पूर्वाधारसमेत बालमैत्री हुनेछन् । 

प्रकाशित मिति: शनिबार, जेठ १३, २०८०  १७:४९
Weather Update