News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner
कुमारी बैंकले मनोजकुमारलाई बनायो सुकुम्वासी, एक रुपैयाँ नचलाई १५ करोडको सम्पत्ति लिलाम 

काठमाडौं— तत्कालीन एपेक्स डेभलपमेन्ट बैंक (हाल कुमारी बैंक)को समेत मिलेमतोमा जारी भएको ‘थर्ड पार्टी’ कर्जाका कारण धनगढीको एक परिवार सडकमा आएको छ । धनगढी उपमहानगरपालिका ४ तारानगरका मनोजकुमार चौधरीको परिवार आफूले चलाउँदै नचलाएको ऋणको कारण सडकमा आउनुपरेको हो । 

आफ्नै साथीको लहलहैमा लागेर व्यवसाय गर्ने नाममा आफ्नो पुर्ख्यौली सम्पत्ति धितो राखेर अर्काको कम्पनीको लागि ऋण लिइदिँदा चौधरी परिवारको यस्तो अवस्था भएको हो । जुन कम्पनीको व्यापारको लागि भन्दै ऋण लिइएको थियो, सो कम्पनीले बैंकको साँवा ब्याज बुझाएन । 

तत्कालीन एपेक्स बैंक अहिले कुमारी बैंकसँग मर्ज भइसकेको छ । लामो समयसम्म साँवा, ब्याज नबुझाएको भन्दै अहिले बैंकले चौधरीको घरजग्गा लिलामी गरिसक्यो । त्यो पनि बजार मूल्यभन्दा करिब आधामा ।

Prabhu Bank

‘साथीको लहैलहैमा लागेर हजुरबाको सम्पत्ति सकेँ । न सम्पत्ति रह्यो । न त व्यवसाय नै मेरो भयो । अन्तिममा आफ्नो सम्पत्ति बेचेर ऋण तिर्छु भन्दा पनि कुमारी बैंकले समय दिएन । सोझो मान्छेलाई सबैले मिलेर सडकमै ल्याइपुर्‍याए,’ मनोजकुमार चौधरीले आफ्नो मनोदशा बोले । 

kumari banks11685117479.jpg
लिलामी भएको घर र मनोजकुमार चौधरी ।

के भएको थियो ?  

मनोजकुमार चौधरी र कैलालीको गौरीगङ्गा नगरपालिका वडा नम्बर १ चौमला घर भएका तेजराम चौधरी स्कुल पढ्दाको साथी हुन् । धनगढीको पञ्चोदय माध्यमिक विद्यालयमा १० कक्षासम्म सँगै पढेका तेजरामले एकदिन मनोजलाई व्यवसाय गर्न हौस्याउँछन् । सुरुमा पन्छिएका मनोज साथी तेजरामको निरन्तर आग्रहपछि पग्लन्छन् । 

साझेदारीमा व्यवसाय गर्ने र सो व्यवसायबाट मनग्य आम्दानी हुने लोभ देखाएपछि मनोज पनि लगानीका लागि राजी हुन्छन् । तेजरामले नै मनोजका लागि आवश्यक रकम जुटाउनका लागि तत्कालीन एपेक्स डेभलपमेन्ट बैंकमा उनको पुख्र्यौली जग्गा धितो राखेर ऋण निकाल्ने चाँजोपाँजो मिलाउँछन् । 

तेजरामले मनोजको १३ कठ्ठा ७ धुर जग्गा ६ महिनापछि फुकुवा गर्ने आश्वासन दिएर बैंकमा धितो राख्न लगाउँछन् । हजुरबुवा गहनु डगौराको नाममा रहेको सो जग्गामार्फत ऋण निकालेर व्यवसाय गर्नका लागि मनोजले परिवारसँग सल्लाह गर्छन् । नातीले व्यवसाय गर्नका लागि पैसा निकाल्ने भएपछि उनका हजुरबुवा डगौराले पनि त्यसका लागि स्वीकृति दिन्छन् । 

एपेक्स डेभलपमेन्ट बैंकले ५ करोड रुपैयाँ भ्यालुएशन गरेको सो जग्गामार्फत काठमाडौंमा रहेको सुशीला एण्ड सृजना ट्रेडर्स प्रालीका लागि ३ करोड रुपैयाँ व्यवसायिक ऋण प्रवाह पनि तत्काल गर्छ । 

 

झापाका सन्तोष आचार्य जसले बनाए ठगीको मास्टरप्लान 

मनोजको हजुरबुवाको नाममा रहेको धितोमार्फत लिएको व्यावसायिक ऋणलाई शेयर मान्दै झापा जिल्ला महारानी झोडा– ६ का सन्तोष आचार्य अध्यक्ष रहेको कम्पनी सुशीला एण्ड सृजना ट्रेडर्स प्रालीले उनलाई कम्पनीको १० प्रतिशत हिस्सेदारीसमेत दियो । 

काठमाडौं– २४ गुच्छाटोलमा अवस्थित कम्पनीको सञ्चालक समितिमा सन्तोषकी श्रीमती सुशीला खतिवडा, तेजराम चौधरी र तुलाराम नेपालीलाई सदस्य रहने कम्पनीको सञ्चालक समितिको निर्णय समेत भयो । 

तुलाराम नेपाली कैलाली टीकापुरका हुन् । उनी पनि मनोज जसरी नै व्यवसाय गर्ने नाममा फसेका व्यक्ति हुन् । 

५ वैशाख २०६२ मा दर्ता भएको ३३८७४/०६१–०६२ दर्ता नम्बर रहेको यो कम्पनीले चीनबाट सामान ल्याएर नेपालमा बिक्री गर्ने दुई लगानीकर्ता (मनोज र तुलाराम)लाई जानकारी दिएको थियो । 

banks1685117703.jpg

२८ असोज २०७२ मा भक्तपुरको लोकन्थलीमा रहेको एपेक्स डेभलपमेन्ट बैंक लिमिटेडमार्फत मनोजको धितोबन्धक राखिरहँदा तुलाराम नेपालीको समेत सोही दिन राखिएको थियो । दुईजनाको धितो राखेर कम्पनीले ३ करोड रुपैयाँ कर्जा लिएको थियो । जबकी धितो मूल्याङ्कनको आधारमा कम्पनीले सो रकम बराबरको ऋण लिन सक्दैन थियो । तत्कालीन समयमा सो बैंकको व्यवस्थापनलाई ५० लाख रुपैयाँ कमिशन दिएर ३ करोड रुपैयाँ ऋण लिन सम्भव भएको मनोज सम्झन्छन् । 

बैंकबाट ऋण आइसकेपछि सन्तोष सामान खरिदका लागि चीन प्रस्थान गरे । मनोज र तुलाराम पनि व्यवसायी बनेकोमा दंग थिए । तर, पैसा बुझाएपछि सन्तोष र तेजरामसँग उनीहरूको कुराकानी हुन छाड्यो । पटकपटक सम्पर्क खोज्दा पनि दुवैजना सम्पर्कमा आएनन् । 

के भन्छ बैंक ?

३ मंसिर २०७३ मा एपेक्स डेभलपमेन्ट बैंकले कम्पनी अध्यक्ष सन्तोष आचार्यसहित पाँचजना ऋणीको नाममा सार्वजनिक सूचना निकालेको जनाएको छ । ७ वर्ष अगाडि एपेक्स डेभलपमेन्ट बैंक एनसीसी बैंकसँग गाभिएको थियो । अहिले एनसीसी पनि कुमारी बैंकसँग गाभिएको छ । 

‘ऋणीहरूको नाममा हामीले पटकपटक सूचना जारी गर्नुका साथै पत्रसमेत पठाएका थियौँ । यो करिब १० वर्ष अगाडिको कुरा हो । यति लामो समयसम्म हामीले उहाँहरूलाई कर्जाबापतको साँवा र ब्याज बुझाउन समय दिएकै हो । तर, केही सीप नलागेपछि बैंकले आफ्नो प्रक्रिया त गर्नैपर्‍यो,’ कुमारी बैंकका चिफ अपरेटिङ अफिसर मुकन्द सुवेदीले भने, ‘लामो समयदेखि डिफल्ट देखिएपछि हामी प्रक्रियामा गएका हौँ ।’

kumari bank-manoj kumar1685154365.jpg

कम मूल्यांकन हुँदाहुँदै पनि बढी ऋण प्रवाह गरेको सन्दर्भमा भने सुवेदीले तत्कालीन एपेक्स डेभलपमेन्टकै ‘पोलिसी’ले निर्धारण गर्ने भन्दै पन्छिए । ‘तत्कालीन समयमा के कसरी त्यति ऋण प्रवाह भयो भन्ने कुरा भने अहिले हामीलाई थाहा हुँदैन,’ सुवेदीले भने, ‘मर्जरसँगै ऋण उठाउने दायित्व हामीसँग आएपछि भने प्रक्रियामा जानैपर्छ ।’ 

कुमारी बैंकसँग ऋण उठाउने दायित्व आएपछि पनि सम्बन्धित कम्पनी र व्यक्तिहरूलाई ताकेता गरेको र समय उपलब्ध गराएको उनले दाबी गरे । ‘ऋणको साँवा ब्याज बुझाउन उनीहरूले नसक्ने देखेपछि हामी अन्तिम विकल्पमा गएका हौँ,’ उनले भने । 

र, लिलामीपछि... 

मनोजले हालको बजारअनुसार बैंकमा धितोबापत राखिएको आफ्नो जग्गाको मूल्य १५ करोड रुपैयाँ पर्ने दाबी गर्छन् । अर्काको लागि ३ करोड ऋण आफ्नो पुर्ख्यौली धितो राखेर निकाले पनि मनोजले सम्पत्ति बिक्री गरेर तिर्न खोजेका थिए । तर, बैंकले त्यसका लागि समय नदिएको मनोजको गुनासो छ । 

‘७० लाख रुपैयाँ तयार गरेर बैंकलाई बुझाएर समय थपका लागि आग्रह पनि गरेका थियौँ,’ मनोजले भने, ‘तर, एकैचोटिमा ऋणबापत्को साँवा ब्याज बुझाउन भन्दै बैंकले पैसा लिन मानेन ।’

अन्ततः कुमारी बैंकले मनोजको घरजग्गालाई लिलामीमा राखेरै छाड्यो । र, धनगढीका शैलेशकुमार सिंहले बैंकसँग ‘अक्सन’मार्फत उनको घरजग्गा जम्मा ५ करोड ९२ लाख रुपैयाँमा खरिद गरिसकेका छन् । ‘जग्गा सकार्ने धनगढीका शैलेशकुमार सिंह दिनदिनै घरमा आएर घर खाली गर्ने धम्की दिन थालेका छन्,’ मनोजका बुवा मंगलप्रसाद चौधरीले भने, ‘एक रुपैयाँ आफूले चलाइएन । अहिले घर न घाटको भै’यो । सबैतिरबाट हामी ठगियौँ । हामी सुकुम्वासी भयौँ ।’

kumaribanks1685117845.jpg

नेपाल राष्ट्र बैंकले अहिले ‘थर्ड पार्टी लोन’ प्रवाह गर्न बैंक तथा वित्तीय संस्थाहरूलाई रोक लगाएको छ । यस्तो ऋणमा धेरै समस्या देखिएपछि राष्ट्र बैंकले कडाइ गरेको हो । तर, मनोजले अर्को कम्पनीको नाममा ऋण लिँदाको समयमा ‘थर्ड पार्टी लोन’ लिन पाइने व्यवस्था थियो । 

प्रक्रिया पुर्‍याएर ऋण प्रवाह गरेको देखिए पनि मनोज चौधरी र उनको परिवारलाई भने उनको साथी, कम्पनीसँगै तत्कालीन समयको एपेक्स डेभलपमेन्ट बैंकको मिलेमतोमा फसाइएको देखिन्छ । ‘तत्कालीन समयमा ऋण दिने क्रममा बैंक कर्मचारीको मिलेमतो हुनसक्ने कुरालाई नकार्न सकिँदैन । यद्यपि यो विषयमा अहिलेको अवस्थामा हामीले पनि यसै भन्न सकिने आधार केही छैन,’ कुमारी बैंकले भनेको छ । 

 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: शनिबार, जेठ १३, २०८०  ०८:३०
sagarmatha cementsagarmatha cement
Weather Update