News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner
प्रधानसेनापतिको आक्रोश : चीनबाट कुनै हतियार किन्न लागेका छैनौँ, नभएको कुरा नगर्नुस्

पाँचखाल— प्रधानसेनापति प्रभुराम शर्माले नेपाली सेनाले चीनबाट कुनै पनि हतियार खरिद गर्न नलागेको स्पष्ट पारेका छन् । 

उनले हतियारको स्टक सेनासँगै रहेको र अहिले कुनै जरुरत नै नरहेको बताए । उनले भने, ‘चीनबाट कुनै पनि हतियार खरिद गर्न लागेका छैनौँ । यूएन मिसनको लागि हतियार किन्न लागेको होइन । अहिले हतियार आवश्यक छैन ।’

सेनालाई शान्ति मिसनको लागि हतियार चाहिएको र सो हतियार चीनबाट खरिद गर्न लागेको समाचारको प्रधानसेनापति शर्माले खण्डन गरे । 

Prabhu Bank

हिमालयन बैंकमा कल्याणकारी कोषअन्तर्गत राखेको पाँच अर्बले चीनबाट हतियार खरिद गर्न लागेको कुरामा आपत्ति जनाउँदै प्रधानसेनापति शर्माले उक्त सूचना भ्रामक रहेको बताए । ‘सेनाले बैंकलाई हतियार खरिद गर्न एलसी खोल्न निवदेन दिएको भन्ने सुनेँ । त्यो गलत कुरा हो । त्यस्तो हो भने सेनाले बैंकलाई पठाएको दाबी गरिएको निवेदन पाऊँ,’ उनले असन्तुष्टि व्यक्त गरे । 

शुक्रबार (१२ जेठ) मा रक्षा सम्वाददातासँग उनले भने, ‘नेपाली सेनाले कुनै हतियार किन्न लागेको छैन । न त जरुरत नै छ । हतियार हामीसँगै छ ।’

उनले यस्ता सूचना कसैले आफ्नो स्वार्थ पूरा गर्न मिडियामा चुहाएको हुनसक्ने आंशकासमेत व्यक्त गरेका छन् । ‘न हामीलाई हतियार चाहिएको छ, न कतै छलफल भएको छ । न त प्रधानमन्त्री, रक्षामन्त्री र रक्षा सचिवले नै यसबारेमा केही बोल्नुभएको छ । एकाएक यस्ता कुरा किन आए ?’ उनले आक्रोश पोखे ।  

उनले २०४५ सालदेखि नै चीनबाट कुनै हतियार खरिद नगरेको जानकारीसमेत दिए । ‘सेनालाई चाहिएको हतियार सरकारले किन्ने हो, त्यो पनि जीटुजी माध्यमबाट,’ उनले भने, ‘आवश्यक परे जर्मन, टर्किस, कोरियन या भारतीय सैन्य सामाग्रीहरू, सरकारले जुनसुकै देशबाट पनि खरिद गर्नसक्छ । जहाँबाट सस्तो, राम्रो र टिकाउ सामान पाइन्छ, त्यहीँबाट नै खरिद गर्ने हो ।’

उनकाअनुसार पूर्वप्रधानमन्त्री शेरबहारदुर देउवाको पालामा हतियार खरिद गरेको कुरा भ्रामक हो । उनले भने, ‘हतियार खरिदमा पूर्वप्रधानमन्त्रीहरू र रक्षामन्त्रीको कुनै चासो हुँदैन । हतियार खरिद गर्नुपरे सरकारको प्रक्रिया छ, त्यसैको पालना गर्ने हो । यसमा पूर्वप्रधानमन्त्रीहरू, वर्तमान प्रधानमन्त्री र रक्षामन्त्रीहरूलाई जोड्नु कुनै तुक छैन ।’

मिसनमा जाँदा जरुरत परेका पार्टपुर्जाका सामग्रीहरू भने किन्ने गरेको उनले जानकारी दिए । ‘एसीपी कारको कुनै पुर्जा खराब भयो, त्यो फेर्नुप¥यो भने हामी खरिद गर्छौँ । त्यो जुनसुकै देशबाट पनि खरिद गर्न सकिन्छ । मिसन गएको स्थानमा नै कुनै उपकरणको पार्टपुर्जा बिग्रेमा खरिद गर्न सक्छौँ । त्यसको भरपाई पनि हुन्छ,’ उनले भने । 

उनले नेपाली सेनालाई आवश्यक परेपनि अहिले नै एसीपी कारसमेत खरिद नगरेको बताए । उनले भने, ‘चार पाङ्ग्रे, छ पाङ्ग्रे किन्ने सोच भएपनि किनेका छैनौँ ।’

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: शुक्रबार, जेठ १२, २०८०  १७:२२
Weather Update