
काठमाडौं— ‘शान्ति मबाट सुरु हुन्छ’ भन्ने नारासहित नेपाली सेनाले अन्तर्राष्ट्रिय शान्ति सेना दिवस २०२३ मनाएको छ ।
पाँचखालस्थित वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रमा आयोजित कार्यक्रममा प्रधानसेनापति प्रभुराम शर्माले एकदमै गर्मी हुने सहारा मरुभूमिदेखि चिसो हिमाली क्षेत्रमा समेत शान्ति स्थापनार्थ नेपाली सैनिक खटेको भन्दै प्रशंसा गरे । उनले भने, ‘शान्ति स्थापनार्थ खटेका नेपाली शान्ति सैनिकले संयुक्त राष्ट्रसंघको लक्ष्य पूरा गर्न ठूलो भूमिका खेलेका छन् । नेपालको कद अन्तर्राष्ट्रियस्तरमा बढाएको छ ।’
कार्यक्रममा राष्ट्रसंघको मिसनमा शान्ति स्थापनार्थ खटिँदा शहीद हुने सैनिकहरू तथा उल्लेखनीय योगदान पु¥याउने व्यक्तित्वहरूलाई सम्मानपत्र र कदरपत्र प्रदान गरिएको थियो ।
नेपाल सन् १९५५ संयुक्त राष्ट्रसंघको सदस्य बन्यो । त्यसलगत्तै १९५८ मा पाँच सैनिक पर्यवेक्षकको रूपमा पहिलोपटक शान्ति स्थापनार्थ लेबननमा खटेका थिए । यस्तै, पुरानो गोरखा बटालियन पहिलो सैनिक टुकडीमा सन् १९७४ इजिप्टमा परिचालन भयो । ७ मे २०२३ मा नेपालले विश्वभर १३ वटा मिसनमा ६ हजार ५७ पुरुष र ५२९ महिला सैनिक खटिएका छन् ।
राष्ट्रसंघमा शान्ति स्थापनार्थ धेरै सैनिकहरू खटाउनेमा नेपाल दोस्रो स्थानमा पर्छ । नेपालले राष्ट्रसंघलाई १० हजारसम्म सैनिक पठाउन सकिने प्रतिबद्धता व्यक्त गरेको छ । नेपालले शान्ति स्थापनार्थ दक्षिण सुडान, कंगो, लाइवेरियालगायत मुलुकमा पठाउने गरेको छ । विश्व शान्ति स्थापनार्थ खट्ने क्रममा विभिन्न मिसनमा परी ७२ नेपाली सैनिकले वीरगति प्राप्त गरेका छन् भने ६६ जना अपाङ्ग भएका छन् ।