
काठमाडौं— वर्षाको सयममा सडककै कारण काठमाडौं उपत्यकाको फोहोर बञ्चरेडाँडास्थित फोहोरमैला प्रशोधन केन्द्र लैजान अब नरोकिने भएको छ ।
विगतका वर्षहरूमा कच्ची सडक वर्षाको समयमा बिग्रँदा उपत्यकाको फोहोर लैजान समस्या हुने गरेको थियो । सरकारले केही समय पहिले दु्रत मार्ग (फास्ट ट्र्याक)बाट ठेक्का लगाएर फोहोर लैजान प्रयोग हुने सडक निर्माण गरेको बालाजु–त्रिशूली–छहरे–बिदुर सडक योजनाले जनाएको छ ।
पहिलेको ठेक्का तोडिएपछि नयाँ ठेक्कामार्फत काम गर्दा बढी समय लाग्ने हुँदा ‘फास्ट ट्र्याक’बाट ठेक्का लगाएर निर्माण गरिएको योजनाका इञ्जिनियर सागर भण्डारीले जानकारी दिए । उनले भने, ‘मन्त्रिपरिषद्ले निर्णय गर्नासाथ काम सुरु गरेर चार महिनाभित्रै सकाइएको हो ।’
सडक विभागले एक दशक पहिले बालाजु–रानीपौवा सडक निर्माणको जिम्मेवारी सैलुङ कन्स्ट्रक्सनलाई दिएको थियो । पटक–पटक अवधि थप हुँदासमेत सडक निर्माण नगरेकाले ठेक्का तोडिएको उनले बताए । इञ्जिनियर भण्डारीले भने, ‘असारमा ठेक्का तोडेर असोजमा नै नयाँ ठेक्काबाट निर्माण थालिएको हो ।’
पुरानो ठेक्का तोडेर तीनपिप्लेबाट मुड्खुसम्म नयाँ ठेक्का लगाएर काम सम्पन्न भएको योजनाले जनाएको छ । सो खण्डको सडक झन्डै साढे चार किमी लामो छ । गत २६ असोजदेखि नयाँ ठेक्कामा गएकामा २८ गतेदेखि काम सुरु भएको उनले बताए ।
लामो समयदेखि अवरुद्ध सडकका कारण त्यहाँका नागरिकले दुःख पाइरहेका थिए । वर्षाका कारण सडक भासिने र फोहोर बोकेका गाडी जान नसक्दा बर्सेनि फोहोरका गाडी फर्कने गरेका थिए । गत वर्ष वर्षाको समयमा महिनौँसम्म फोहोर उठ्न नसकेपछि सरकारले सो सडक निर्माण चाँडो सकाउन चासो देखाएको थियो ।
बालाजु–त्रिशूली–छहरे सडकमा बालाजु–त्रिशूली दुई ठेक्का र त्रिशूली–छहरे एउटा ठेक्का गरी तीन वटा ठेक्का गरिएको थियो । तीमध्ये तीनवटै ठेक्कामा काम ढिलाइ भएको छ । बालाजु–त्रिशूली ५५ किमी र त्रिशूली–छहरे ११ किमी गरेर यो योजनाले ६६ किमी सडक योजनाको कार्यक्षेत्रमा परेको छ । यी तीनै कम्पनीसँग विसं २०७०-७१ मा ठेक्का सम्झौता गरिएको थियो ।