
पोखरा— युथ थिङ्कर्स सोसाइटी (वाइटिएस) को आयोजनामा पोखरामा संयुक्त राष्ट्रसंघको नमुना महासभा हुने भएको छ । शुक्रबारदेखि तीन दिनसम्म चल्ने पोखरा एमयुएन (नमुना महासभा) मा १५ जिल्लाका एक सय २० जना सहभागी हुने संस्थाका अध्यक्ष रिजन ढुङ्गानाले जानकारी दिए ।
विश्वले नमुना संयुक्त राष्ट्र सम्मेलन कसरी गर्छ, यसको तयारी कसरी गर्नेलगायत विषयमा छलफल गरिने महासभामा सहभागीले विश्वव्यापी समस्याहरूको सम्भावित समाधानहरू प्रस्तुत गर्नेछन् ।
आर्थिक मन्दी, फर्जी औषधिका कारण बढ्दै गएको खतराहरू र ई–वेस्टको सुरक्षित डिस्पोजल कसरी व्यवस्थापन गर्ने विषयमा महासभा केन्द्रित हुनेछ ।
सभामा संसदीय प्रक्रिया, नीतिगत छलफल, कूटनीति, अन्तर्राष्ट्रिय सम्बन्ध र संयुक्त राष्ट्रसंघका बारेमा पनि जान्न सकिन्छ ।
त्यस्तै, सहभागीले अनुसन्धान, सार्वजनिक भाषण, बहस, लेखन र विशेषगरी आलोचनात्मक विश्लेषण सीपहरूको वृद्धि, कसरी गर्ने लगायतका विभिन्न प्रक्षेपणसमेत प्रस्तुत गर्ने ढुङ्गानाले जानकारी दिए ।
मोडल युनाइटेड नेसन्स (एमयुएन) अन्तर्गत संयुक्त राष्ट्रसंघको कार्यवाहीको एक शैक्षिक अनुकरण हो ।
यसरी नै छनोट हुँदै युवाहरूले संयुक्त राष्ट्रसंघका विभिन्न समितिहरू जस्तै महासभा, सुरक्षा परिषद् आदिमा विभिन्न देशका प्रतिनिधिहरूको भूमिका खेल्न सक्नेछन् ।