News Griha :: न्यूजगृह
सुनचाँदी चोरीमा संलग्न तीन पक्राउ

विराटनगर— विराटनगर महानगरपालिका–३ स्थित एक घरबाट चोरी गरिएको ६१ लाख रुपैयाँ मूल्य बराबरको सामानसहित तीन जनालाई पक्राउ गरी प्रहरीले सार्वजनिक गरेको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङले बिहीबार पत्रकार सम्मेलन गरी यही ३ जेठमा विराटनगर–३ पीपलचौकस्थित जयकिशोर चौधरीको घरबाट २० तोला सुन र ३६ केजी चाँदी  गरी जम्मा ६१ लाख बराबरको गरगहना चोरी गरेको आरोपमा विराटनगर महानगरपालिका–१२ बस्ने २१ वर्षीय राजकुमार कामत, सोही वडाका १९ वर्षीय विवेक कामत र श्रीकान्त दासलाई पक्राउ गरी सार्वजनिक गरेको छ ।

उक्त चोरीको घटनाको अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय मोरङबाट आठ जनाको टोली परिचालन गरी आरोपीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायब उपरीक्षक रञ्जनकुमार दाहालले जानकारी दिए ।

निजहरूलाई १० जेठको राति १ बजे विराटनगर–१२ कोशी प्रोजेक्टस्थित सडक खण्डमा चोरीको सामान ३५ केजी चाँदी, आठ ग्राम सुन, दुई थान मोबाइलसहित भारतको जोगबनीमा बिक्री गर्न जाने क्रममा प्रहरीले पक्राउ गरेको हो ।

चोरीको घटनामा अनुसन्धानमा खट्ने सात जना प्रहरी अधिकृतसहित प्रहरी कर्मचारीलाई पुरस्कृत गरिएको छ ।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: शुक्रबार, जेठ १२, २०८०  ०५:५७
Weather Update