चिडियाखानामा एकैदिन १२ हजार अवलोकनकर्ता

काठमाडौं— रातो मच्छेन्द्रनाथको भोटो देखाउने दिन बिहीबार मात्रै ललितपुरको जावलाखेलस्थित सदर चिडियाखानामा १२ हजार अवलोकनकर्ता आएका छन् ।
वर्षा र सहकालका देवता रातो मच्छेन्द्रनाथको भोटो देखाउने दिन परेकाले अन्य दिनभन्दा धेरैले चिडियाखाना अवलोकन गरेका हुन् ।
चिडियाखानाका सूचना अधिकारी गणेश कोइरालाका अनुसार अन्य दिन बढीमा तीन हजारले मात्र चिडियाखानाको अवलोकन गर्ने गरेका थिए ।
बिहीबार भोटो देखाउने दिन भएकोले उल्लेख्य मात्रामा अवलोकनकर्ता आएका हुन् । चिडियाखाना अवलोकनकै लागि अन्य दिन दुई सय रुपैयाँ तिर्नुपर्ने भए पनि बिहीबार ७५ मै अवलोकनको व्यवस्था मिलाइएको अधिकारी कोइरालाले बताए ।
कोरोनाले गर्दा तीन वर्षसम्म आर्थिक समस्या झेलिरहेको चिडियाखानामा पछिल्लो समय अवलोकनकर्ताको भीड नै लाग्ने गरेको छ ।
प्रकाशित मिति: बिहीबार, जेठ ११, २०८० १८:५५