News Griha :: न्यूजगृह
रुकुम जीप दुर्घटना अपडेट : मृत्यु हुने पाँचै जनाको पहिचान खुल्यो
प्रतीकात्मक तस्बिर ।

रुकुम पश्चिम— रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका– ८ दुलीमा भएको जीप दुर्घटनामा मृत्यु हुने पाँचै जनाको पहिचान खुलेको छ । 

बिहीबार बिहान भएको जीप दुर्घटनामा चारजनाको घटनास्थलमा र एकजनाको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको थियो । 

दुर्घटनामा मृत्यु हुनेमा सानीभेरी गाउँपालिका–५ का ४८ वर्षीय देउचन खत्री, सोही ठाउँका ७० वर्षीय कर्ण बाँठामगर, बाँफिकोट गाउँपालिका– ८ की २२ वर्षीया रेखा केसी खनाल र उनको २२ दिनको छोरा रोशन केसीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी निरीक्षक विष्णुकुमार श्रेष्ठले जानकारी दिए । 

दुर्घटनामा परी सानीभेरी गाउँपालिका– ५ कै २३ वर्षीया शीतला कुसारीको अस्पताल ल्याउने क्रममा बाटोमै मृत्यु भएको उनको भनाइ छ । 

दुर्घटनामा परेर १० जना घाइते भएका छन् । घाइतेमध्ये चार जनालाई उपचारका लागि शिक्षण अस्पताल कोहलपुर पठाइएको छ । उनीहरूलाई हेलिकप्टरमार्फत पठाइएको हो ।

घाइने हुनेमा सानीभेरी गाउँपालिका ५ का ४० वर्षीय प्रेम बाँठामगर, सोही वडाका २२ वर्षीय ललित बाँठामगर, दुई वर्षीय प्रसिद्ध कुसारी र २० वर्षीया अनिता केसी रहेको प्रहरी निरीक्षक श्रेष्ठले बताए । 

अन्य घाइतेलाई उपचारका लागि जिल्ला अस्पताल सल्लेमा ल्याइएको छ । सानीभेरी गाउँपालिका– ५ का ४६ वर्षीय कर्णवीर पुन, सोही वडाकी १७ वर्षीया मनिषा बस्नेत, १७ वर्षीया रीता खत्री, २१ वर्षीया कल्पना केसी, ४६ वर्षीया गम्भीर कुसारी र ३५ वर्षीय दीपक बाँठा मगरको जिल्ला अस्पताल सल्लेमा उपचार भइरहेको छ । 

सानीभेरी गाउँपालिका–५ हाँसुदेखि जिल्ला सदरमुकाम जाँदै गरेको लु१ज १७४७ नं को जीप बिहीबार बिहान दुलीको मोचेखोलामा दुर्घटनामा परेको थियो । उकालोमा अनियन्त्रित भएर जीप दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ । रासस

प्रकाशित मिति: बिहीबार, जेठ ११, २०८०  १७:१२
Weather Update