News Griha :: न्यूजगृह
रुकुम जीप दुर्घटना : पाँचको मृत्यु, गम्भीर घाइते चार जनालाई कोहलपुर लगियो 
प्रतीकात्मक तस्बिर ।

काठमाडौं— रुकुम पश्चिमको बाँफीकोट गाउँपालिका– ८ दुलीमा भएको जीप दुर्घटनामा परी पाँच जनाको मृत्यु भएको छ । 

बिहीबार बिहान करिब साढे आठ बजेतिर भएको दुर्घटनाममा परी २२ दिने सुत्केरी र उनको शिशुसमेत चार जनाको घटनास्थलमा र एक जनाको उपचारको लागि जिल्ला अस्पताल लैजाँदै गर्दा बाटोमै निधन भएको बाँफीकोट गाउँपालिका ८ का वडाध्यक्ष धनबहादुर खत्रीले जानकारी दिए । 

‘बिहान भएको दुर्घटनामा घटनास्थलमै चार र उपचारको लागि जिल्ला अस्पताल लैजाँदै गर्दा बाटोमै एक जना गरी पाँच जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा २२ दिनको सुत्केरी रेखा खत्री र उनको नवजात शिशु रहेका छन् । कर्ण बाठा मगरको परिचय खुलेको छ । मृत्यु हुनेमा सानीभेरी गाउँपालिकाको तीन जना र बाँकीबाँफीकोटका रहेका छन्,’ वडाध्यक्ष खत्रीले भने । 

दुर्घटनामा गम्भीर घाइते चार जनालाई हेलिकोप्टरमार्फत उपचारको लागि कोहलपुर मेडिकल कलेज लगिएको प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले जानकारी दिए । बाँकी छ जनाको  रुकुम पश्चिमको सल्लेमा उपचार भइरहेको छ ।  

सानीभेरी–५ मेल्चोरबाट मुसिकोट आउँदै गरेको लु१ज १७४७ नम्बरको जिप बिहान दुर्घटनामा परेको थियो । प्रारम्भिक रूपमा जिपको ब्रेक फेल भएर दुर्घटना भएको हुनसक्ने खत्रीले बताए । 

प्रकाशित मिति: बिहीबार, जेठ ११, २०८०  १३:०४
Weather Update