News Griha :: न्यूजगृह
प्रहरी महानिरीक्षक पनि जोडिए नक्कली भुटानी शरणार्थी प्रकरणमा, निलम्बन गर्न माग

काठमाडौं— नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) बसन्त कुँवरको नामसमेत नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएको छ ।

भुटानी शरणार्थी प्रकरणमा आरोपितलाई बचाउन समन्वय गरेको आरोप आईजीपी कुँवरमाथि लागेको छ । प्रहरी प्रमुखकै नाम शरणार्थी प्रकरणमा मुछिएपछि उनीमाथि छानबिन गर्न दबाब बढेको छ । 

नक्कली शरणार्थी प्रकरणमा अनुसन्धान सकेर प्रहरीले रायसहितको प्रतिवेदन जिल्ला सरकारी वकिललाई बुझाइसकेको छ । प्रहरीले बुझाएको प्रतिवेदनमा भने आईजीपी कुँवरको नाम छैन । तर, पनि उनीमाथि छानबिन गर्नुपर्ने प्रशस्त आधार भेटिएको भन्दै समाचार सार्वजनिक भएका छन् ।

वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) हुँदा कुँवर काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय प्रमुख थिए । त्यतिबेलै नक्कली शरणार्थी प्रकरणको उजुरी परेको थियो । आईजीपी कुँवरले उक्त प्रकरणको फाइल नै 'गायब' बनाएको समाचार समेत सार्वजनिक भएका छन् । कुँवरले उजुरी परेदेखि नै पूर्वगृहमन्त्री बालकृष्ण खाण, पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी र पूर्वगृहसचिव टेकनारायण पाण्डेलाई जोगाउन भूमिका खेलेको आरोप लागेको छ । यतिमात्र होइन रायमाझीलाई भगाउन नै भूमिका खेलेको आरोप आईजीपी कुँवरमाथि लागेको थियो । 

भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै ठगी भएको उजुरीमाथि अनुसन्धान रोकेको आरोपसमेत आईजीपी कुँवर माथि लागेको छ । त्यसैको परिणामस्वरूप उनलाई एसएसपीबाट नायब महानिरीक्षक (डीआईजी) बढुवामा १३ नम्बरबाट एक नम्बरमा ल्याइएको दाबी  गरिएको समाचार सार्वजनिक भएका छन् । 

एसएसपी हुँदा कुँवरको २३ पुस २०७८ मा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा सरुवा भएको थियो । १८ जेठ २०७९ मा गजेन्द्र बुढाथोकी र राजकुमार रेग्मीले नक्कली भुटानी शरणार्थी प्रकरणमा ठगी भएको भन्दै गिरोहका नाइके केशव दुलाल र टङ्क गुरुङविरुद्ध जाहेरी दर्ता गरेका थिए।

उजुरीमा प्रतिवादी बनाइएकाहरू विरुद्ध २८ जेठ २०७९ मा काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी समेत जारी भयो । त्यसपछि उनीहरू पक्राउ परे । तर, पक्राउ परेको आधा घण्टा पनि हिरासतमा नबसी उनीहरू छुटे ।  त्यसपछि अनुसन्धान प्रक्रिया नै अघि बढेन ।

उजुरी परेको करिब १० महिनापछि मात्र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले १२ चैत २०७९ मा आरोपितलाई पक्राउ गर्‍यो । अनुसन्धानको क्रममा आईजीपी कुँवरको गिरोहका सदस्य केशव दुलाल र सानु भण्डारीसँग सम्पर्क र भेटघाट भएको भेटिएको विवरण सार्वजनिक भएको छ । बहालवाला आईजीपीमाथि छानबिन हुने सम्भावना भने देखिँदैन । तर, उनलाई निलम्बन गरेर अनुसन्धान गर्न भने सकिन्छ । 

आईजीपी कुँवरमाथि समेत छानबिन हुनुपर्ने आवाज सदनमा समेत उठिसक्यो । बुधबार प्रतिनिधि सभा बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरी महानिरीक्षक कुँवरलाई निलम्बन गरेर छानबिन गर्न माग गरे ।

कुँवरको भूमिका शंकास्पद रहेको समाचारहरू आएको भन्दै उनले छानबिन गर्ने कि नगर्ने भनी प्रश्न गरे । ‘नेपाल प्रहरीका आईजीपीको विरुद्धमा पनि पत्रपत्रिकामा आएको छ । एउटा कर्मचारीलाई निलम्बन गरेर छानबिन गर्न कि नगर्ने ?,’ सांसद शाहीले प्रश्न गरे । 

त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद शिशिर खनालले नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाउने प्रकरण मिलाउन खोजिएको भन्दै आपत्ति जनाए ।

बुधबार प्रतिनिधि सभा बैठकको शून्य समयमा सांसद खनालले कुनै बहाना नगरी उक्त प्रकरणमा संलग्न सबैलाई कारबाही गर्न माग गरेका हुन् । प्रधानमन्त्री पुष्पकमल दाहालले उक्त प्रकरणको छानबिन भ्रष्टाचारविरुद्धको फिल्मको ट्रेलर भएको र पूरै फिलिम हेर्न बाँकी रहेको भन्ने अभिव्यक्ति उल्लेख गर्दै सांसद खनालले संलग्न सबैलाई कारबाही गर्न माग गरेका हुन् ।

‘भुटानी शरणार्थी प्रकरणमा ब्लकबस्टर फिलिम नै हेर्न पाइन्छ भनेर प्रधानमन्त्रीले देखाउनु भएको ट्रेलरको आधारमा उत्साहित भइयो । तर, यो फिलिमको दृश्य यति काँटछाँट गरिँदै छ कि फिलिम त साह्रै बकवास हुन थालेको छ,’ सांसद खनालले माग गरे, ‘रास्वपाले यो फिलिम हेरेर बस्दैन । आईजीपी, पूर्वसचिव, पूर्वमेयर र पूर्वप्रधानमन्त्रीको सचिवको समेत नाम जोडिएको छ । नो इफ नो बट सबैमाथि तुरुन्त कारबाही र छानबिन होस् ।’  

प्रकाशित मिति: बुधबार, जेठ १०, २०८०  १६:२३
Weather Update