
काठमाडौं— प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अल्पसङ्ख्यक सीमान्तकृत समुदायको पहिचान र अधिकारका लागि सरकार दृढ रहेको बताएका छन् ।
नेपाल कुमाल सुधार समितिका अध्यक्ष तेजबहादुर कुमाल नेतृत्वको प्रतिनिधिमण्डलसँग कुराकानीमा प्रधानमन्त्री दाहालले आफू कुमाल समुदायसहित नेपालका सबै अल्पसङ्ख्यक सीमान्तकृत समुदायको पहिचान र अधिकारको पक्षमा रहेको बताएका हुन् ।
‘सानो सङ्ख्यामा रहे पनि नेपालको सामाजिक र राजनीतिक परिवर्तनमा कुमाल समुदायको महत्त्वपूर्ण भूमिका छ । यो समुदायको इतिहास, संस्कृति र महत्त्व धेरै ठूलो छ’, उनले भने ।
प्रधानमन्त्री दाहालले सबै अल्पसङ्ख्यक सीमान्तकृत समुदायलाई राज्यको मूलप्रवाहमा ल्याउन आफूले विगतदेखि नै सङ्घर्ष गरेको उल्लेख गर्दै ती समुदायको विकास, समृद्धि, हित र मुद्दाप्रति सरकार दृढ रहेको बताए ।
प्रधामन्त्री दाहालसँगको भेटमा संविधान सभा सदस्य ज्ञानेन्द्र कुमाल, कुमाल मुक्ति मोर्चाका अध्यक्ष कञ्चन कुमाल, आदिवासी जनजाति महासङ्घका उपाध्यक्ष श्रुति कुमाललगायतको उपस्थिति रहेको थियो ।