News Griha :: न्यूजगृह
घोडेजात्रा : पर्व कि रवाफ ?

काठमाडौं — आज घोडेजात्रा । टुँडिखेलमा नेपाली सेनाले घोडाको कवाज देखाएर घोडेजात्रा मनाइन्छ । हेर्दा यो सेनाको रवाफ देखाउने पर्व लागेपनि, खासमा काठमाडौंका नेवार समुदायको दोस्रो ठूलो पर्व हो । यो कसरी ठूलो पर्व भयो ? जिज्ञासा उत्पन्न हुनसक्छ । एकपटक इतिहासलाई हेरौँ,

मल्लकालदेखि नै काठमाडौं, भक्तपुर, पाटन र कीर्तिपुरका रैथाने नेवारहरुले दसैँपछि दोस्रो ठूलो पर्व फरक फरक मनाउँदै आएका छन् । भक्तपुरको बिस्केट जात्रा, पाटनको दोस्रो ठूलो चाड रातो मछिन्द्रनाथको जात्रा, कीर्तिपुरको इन्द्रायणी जात्रा र काठमाडौंको पाहाँ चःह्रे हो । काठमाडौंका रैथाने नेवारले धुमधामका साथ मनाउने पाहाँ चःह्रे ओझेलमा परेको छ भने सो जात्राको एउटा अंश मात्र रहेको घोडेजात्रा शताब्दीदेखि सेनाको दख्खलँगै हाइलाईट हुँदै आएको छ ।

ghode jatra5-20791679382761.JPG

सेनाले टुँडिखेलमा देखाउने घोडाजात्रा आम नागरिकले सधैँ बाहिर बारबाट मात्र हेर्ने पाउने व्यवस्था छ । धन्न, २०४२ मा नेपाल टेलिभिजनको स्थापना भएपछि घोडेजात्रा टीभीमा प्रत्यक्ष प्रसारण भएपछि मात्रै आम नागरिकले हेर्न पाए र आजसम्म आम नागरिकले घोडेजात्रा टीभीबाट र छेकिएको टुँडिखेलको बारमा लुकेर हेर्ने चलन छ । नेवारहरुको सांस्कृतिक परम्पराको एउटा अभिन्न पाटोलाई कालान्तरमा शाहवंशीय सेनाको नेतृत्व गर्ने जंगबहादुरले सांस्कृतिक हनन गरी घोडेजात्रा सेनाको कला, कौशल र रवाफ देखाउनेमा कसरी सीमित भयो, यस बारेमा चर्चा गरेका छौँ ।

के हो पाहाँ चःह्रे  ?

नेवारी भाषाको पाहाँ चःह्रेको अर्थ पाहाँ भनेको अतिथि र चःह्रे भनेको चौथो दिनलाई बुझाउँछ । यस दिन अतिथिको सेवा गर्ने हुन्छ । पाहाँ चःह्रेको पहिलो दिन अर्थात् घोडेजात्राको अघिल्लो दिन बिहानै जमिन खोतलेर महादेवको शिला निकालिन्छ । दुई फिट खनेपछि शिला भेटिन्छ । प्रत्येक वस्तीको निश्चित स्थानमा शिला राखिएको हुन्छ । यसरी भेटिएको महादेवको शिलालाई लुकुमहा द्यः (लुकिरहेका महादेव) भनिन्छ । लुकुमहा द्यःको लसुन, छ्यापी, मासु, रक्सी आदि राखेर पूजा गरिन्छ ।

ghode jatra4-20791679382761.JPG

यसमा रोचक दन्त्य कथा छ । एकदिन महादेव काठमाडौं नगर घुम्न आउँछन् । यहाँका मानिसहरु जात्रा मनाउदै, खाँदै रमाइरहेका हुन्छन् । महादेवले पनि स्थानीयसँग बसेर माछा, मासु, चिउरा, रक्सी पिउँछन् । स्थानीयले महादेवलाई चिनेपछि उनी लाज मानेर लुक्न जान्छन् । त्यही लुक्न गएको महादेवलाई उत्खनन गरेर यो जात्रा मनाइन्छ । महादेव अर्कै भेषमा आएपनि मानिसले चिनेपछि लुक्न गएकोले लुकुमहा द्यः (लुकिरहेका महादेव) भनिएको किंवदन्ती छ । महादेव लुक्न गएकोले निमन्त्रणा गरेर खाल्डोबाट खनेर, ठाउँ सफा गरेर माछा, मासु, छ्यापी र लसुनलगायतका सामानले पूजा गर्ने गरेको संस्कृतिविद् एवम् लेखक वसन्त महर्जन बताउँछन् ।

सोही किंवदन्ती अनुसार पाहाँ चः ह्रेको दिन सोमबार बिहानै (लुकेको महादेव) लुकुमहा द्यःको पूजा गरिएको हो । सोमबारै बिहान भीमसेनथान, मरु, कोहिची, हुमद लगायतका पुराना नेवार वस्तीमा १२ वर्षसम्मका कन्या केटीहरुको पूजा गरिएको छ । मह्र्रजा नकु भनेर १२ वर्षसम्मका कन्या केटीहरुलाई टोल टोलमा राखेर भात, मासु, मिठाई, चकलेट समेत खुवाई पूजा गर्ने यस पर्वमा चलन छ । यस अवसरमा त्यहाँ भव्य समारोह नै हुने गरेको महर्जन सुनाउँछन् ।

ghode jatra3-2079 (1)1679382772.JPG

तीनदिनसम्म चल्ने पाहाँ चःह्रे जात्रामा बिहान महादेवको पूजा, कन्या केटीहरुको पूजापछि दिउँसो अजिमाहरुलाई खटमा राखेर रथ जात्रा निकालिन्छ । यस दिन काम परेपनि दिदीबहिनीहरु माइत जाँदैनन् । साथी भाइहरुको घर जाने र आउने गर्दैनन् । 

संस्कृतिविद् महर्जन भन्छन्, ‘किनकि यस दिन सबैको घरघरमा पूजा हुन्छ । नबोलाईकन नेवारहरुको भोजमा जाने चलन छैन ।’ 

तर, आज घोडेजात्राको दिन फेरि छोरी ज्वाइँलाई बोलाएरै भोज खुवाउने चलन छ, जसलाई नख्त्या भनिन्छ । पाटनमा पाहाँ चःह्रेमा घोडा कुदाउने बाहेक अरु कुरा खासै वास्ता नहुने पाटन निवासी नरेश शाक्यले जानकारी दिए । उनले भने, ‘यो काठमाडौंको पर्व हो । हाम्रो यहाँ आज मंगलबजारमा घोडा कुदाइन्छ । अरु त खासै हुँदैन ।’

यस पर्वको खास महत्व अजिमाहरुको खटमा राखिएको रथ जात्रा हो । नेवार समुदायको अन्य पर्वमा जस्तो यस दिन भैरव, कुमारी र गणेशको रथ निकालिदैन । नेवारी भाषामा बोलिने अजिमाको अर्थ हजुरआमा हो । पाहाँ चःह्रेको अवसरमा सोमबार अजिमाहरुको मन्दिरको सरसफाइ गरेर दिउँसो खटमा राखेर जात्रा निकालिएको थियो । बुधबारसम्म चल्ने जात्रामा कंग अजिमा, इन्द्रायणी अजिमा, लुकी अजिमा, म्हेपी अजिमालगायतका अजिमाहरुको रथ जात्रा टोलटोलबाट निकालिन्छ । 

kankeshor mandir1679382783.jpg

काठमाडौंमा अजिमाको ठूलो महत्व छ । नेतोमरु अजिमाको भने अर्कै दिनमा जात्रा निस्कन्छ । यी अजिमाहरु एक आपसमा दिदी बहिनी हुन् । काठमाडौंको गल्ली गल्लीमा आफनो बाजा बजाउँदै यी अजिमाहरुको खट जात्रा निस्कन्छ । एकै समयमा सबै स्थानबाट अजिमाहरुको खट जात्रा निस्कदा रौनक नै बेग्लै हुन्छ । जात्रामा सहभागीहरुले रातो, निलो गरी फरक फरक रङको टोपी लगाएका हुन्छन् । छुट्टा छुट्टै रथको छुट्टा छुट्टै रङको टोपी हुन्छ । त्यही टोपीबाट को कुन टोलको भनेर चिनिन्छ । साँझ असनको डबल्लीमा रथ जुधाइन्छ  ।

रथ जुधाउने भनेको हातमा बाली ल्याएको मसाल साटासाट गर्नु हो । ती रथहरु ल्याउँदा आ आफ्नो टोलको घरहरुको आँगन आँगनमा पुर्याइन्छ र र ती घरहरुमा बलि चढाएर पूजाआजा गरेको हुन्छ । आफ्नो रुचि अनुसार कुखुरा भाले, हाँस या अण्डा, या पूजा मात्रै गर्ने चलन छ । बाजा बजाउदै रथ घरघरमा पुर्याउँने र पूजा थाप्ने चलन छ । महर्जन भन्छन्, ‘यो स्थानीय संस्कृति हो । अजिमाको पूजा तन्त्रविधिबाट गर्नुपर्छ । साधारणतयाः महादेवलाई रक्सी, मासु चल्दैन । लुकुमहा द्यःलाई तन्त्रविधिबाट पूजा गरिन्छ ।’

कहिलेदेखि घोडेजात्रा सेनाको कब्जामा गयो ?

संस्कृतिविद् महर्जनकाअनुसार पाहाँ चः ह्रे जस्तो महत्वपूर्ण पर्वमा धेरै रितिहरु हुन्छन् । जसमा धेरै रितिहरु मध्ये घोडा कुदाउने रिति पनि एक हो । टुँडिखेलमा मल्लकालमा आजको दिन घोडा कुदाइन्थ्यो । भन्छन्, ‘जंगबहादुर राणा बेलायतमा धेरै घोडा कुदाएको देखेर आएपछि काठमाडौंमा एउटै मात्र घोडा कुदाएको चित्त नबुझेर र सैनिक रवाफ देखाउन टुँडिखेलमा धेरै घोडा कुदाए । जसले गर्दा एउटा घोडा कुदाउने पर्व चाहिँ नासियो, तर धेरै घोडा कुदाउने थिति चाहिँ कायम रह्यो ।’ सो घोडा तलेजु मन्दिरको हुन्थ्यो । पाटनमा अहिले पनि मल्लकालदेखि सुरु भएको एउटा घोडा कुदाउने प्रचलन कायम छ । त्यस हिसाबले पनि काठमाडौंको एकल घोडा कुदाउने संस्कृति नासिएको मान्न सकिन्छ ।

टोखामा लुकुमहा द्यः

टोखाको थनेलाछीमा रहेको यँसि गायमा यँसि उठाएसँगै सोमबारबाट विधिवत रुपमा टोखामा पाहाँ चःह्रे नखः सुरू भएको थियो । महादेवको प्रतीक मानिने यँसि उठाउनु पूर्व यँसि गुथि खलःहरुले यँसिको विशेष पुजाआजा गरे यँसि उठाएर जात्रा सुरु गरेका छन् । टोखामा प्रत्येक वर्ष चैत कृष्ण चतुर्दशीका दिन बिहान यँसि उठाइन्छ । सोही दिन राती अजिमा देवी (संकटा), सपन विनायक र लुकुमहा द्यःलाई पुजा गरिन्छ । यस दिनलाई पिसाच चतुर्दशी पनि भन्ने गरिन्छ ।

ghode jatra2-20791679382783.JPG

साँझपख टोल, चोक, ननी, बहालमा निगालो बालेर बाजागाजा सहित अजिमा द्यः र सपन विनायकको प्रतिमालाई खटमा राखि टोखा नगर परिक्रमा गराइन्छ । जसलाई स्थानीय भाषामा लुकुमहाद्यः तथा लख द्यःजात्रा भनिन्छ । यसै दिन मध्यराती यँसिको अगाडि विशेष चाः पुजा गरिन्छ । आचार्यजुले तान्त्रिक पूजा गर्ने गरिन्छ । यो पूजालाई यँसि खलःबाहेक अरुले हेर्न नहुने मान्यता रहेको पाइन्छ ।

यता पाटनमा घोडजात्रा अर्थात् आजको दिन भीमसेन गुठीले घोडा कुदाउछ । उक्त घोडा पनि नेपाली सेनाले नै उपलब्ध गराउने हो । मंगलबजारबाट कुदाइने घोडाले बालकुमारीको तीन पटक परिक्रमा गर्छ । गुठीको मान्छेले कुदाउने हुँदा घोडा राम्ररी नकुदेपछि घोडाले रक्सी खाएको भन्ने हल्ला फिजिने गरेको संस्कृतिविद्हरु बताउँछन् । एक कानो घोडा या जड्याहा घोडा भनेर सुन्ने गरेको कुरा यथार्थ बुझ्न आफैँ जात्रा हेर्न गएको स्मरण गर्दै महर्जन भन्छन्, ‘यी कुरा सबै गलत हुन् । घोडा कुदाउँदा ढंग नपुगेको र मान्छेको हुल देखेर घोडा आँतिएर यताउता कुद्ने गरेको हो । दुवै आँखाले देख्छ कि देख्दैन भनेर खुद हेरेको छु । घोडाको दुवै आँखा सद्दे थियो ।’

यस्तै, घोडेजात्रामा गुरुमापाको कथा पछि थपिएको संस्कृतिविद्हरु बताउँछन् । गुरुमापा भन्ने एउटा राक्षस थियो । उसको प्रेतले दुख दिएको कारणले टुँडिखेलमा उसको आत्मा दफन गरेको र ऊ कहिले माथि आउन नसकोस् भनेर घोडा कुदाएको कहानी छ । संस्कृतिविद्काअनुसार सो कहानी पछि रमाइलोको लागि बनाएको कथा हो यो ।

तर, मध्यकालदेखि नै काठमाडौंको कुमारीले आजको दिन घोडेजात्रा हेर्न जाने चलन छ । उनलाई पुरानै स्थान हालको एनएसीको भवनको एउटा कोठा छुट्याइदिएको छ, त्यहीबाट उनले घोडेजात्रा अवलोकन गर्छिन् । यद्यपी, उनले मल्लकालमा र जंगबहादुरको उदय हुनुभन्दाअघि जस्तो एकल घोडा नभई घोडाहरुको कवाज हेर्ने गर्छिन् ।
 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: मंगलबार, चैत ७, २०७९  १२:५२
समसामयिक
Weather Update