News Griha :: न्यूजगृह
प्रधानमन्त्री दाहाल आफैँले गरेका प्रतिबद्धताबाट भाग्ने गरेको एमाले महासचिव पोखरेलको आरोप

काठमाडौं— प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रधानमन्त्री पुष्पकमल दाहाल आफैँले गरेका प्रतिबद्धताबाट भाग्ने गरेको आरोप लगाएका छन् । 

प्रधानमन्त्री दाहाललाई जहाँ गएपनि मिठो कुरा गर्ने तर, बिर्सिहाल्ने काम नगर्न महासचिव पोखरेलको सुझाव थियो । 

‘यस्तो नभइदियोस्– प्रायः हामी सुन्ने गर्छौँ, जहाँ गयो, मिठा कुरा गर्‍यो । फर्केपछि बिर्सियो,’ उनले भने, ‘त्यो अवस्था निश्चिय पनि हुनेछैन भन्ने म ठान्दछु । आज जे प्रतिबद्धता जाहेर गरिएको छ । त्यसमा सरकार प्रतिबद्ध रहनेछ ।’

मंगलबारबाट काठमाडौंमा सुरु भएको सामुदायिक वन उपभोक्ता महासंघको सातौं राष्ट्रिय महाधिवेशनमा उनले सामुदायिक वनको क्षेत्रमा सरकारले गर्ने रचनात्मक काममा आफ्नो पार्टीको पूरै साथ रहने प्रतिबद्धता पनि व्यक्त गरे । 

महासचिव पोखरेलले वन क्षेत्रलाई सरकारले मुलुकमा विद्यमान गरिबीमाथि विजय हासिल गर्ने माध्यामको रूपमा लिएर अघि बढाउनुपर्ने आवश्यकता पनि औँल्याए ।

वन संरक्षणको नाममा स्थानीय समुदायलाई विस्थापित गर्ने खालको नीति खारेज गर्न पनि सरकारलाई सचेत गराए । 

महासचिव पोखरेलले वन क्षेत्रको विकास गरी गरिबी हटाउन सकिन्छ भन्ने मान्यतालाई कार्यान्वयनमा लैजानका लागि सरकारले स्थानीय तहको आम उपभोक्तासँगको साझेदारीमा जोड दिनुपर्ने तर्कसमेत गरे । 

प्रकाशित मिति: मंगलबार, जेठ ९, २०८०  १५:२१
Weather Update