
काठमाडौं— बझाङको काँडामा अवस्थित साईपाल गाउँपालिकाले गाउँपालिकाको माझा क्षेत्रमा अमेरिकी सेनाको बेसक्याम्प स्थापना भएको भनि विभिन्न सञ्चारमाध्यममा प्रसारित तथा प्रकाशित समाचारको खण्डन गरेको छ ।
सोमबार गाउँपालिकाका अध्यक्ष मानवीर बोहराले प्रेस विज्ञप्ति जारी गर्दै माझा क्षेत्रमा अमेरिकी सेनाको बेसक्याम्प नगरेको प्रस्ट पारेका हुन् ।
‘विगत केही दिनदेखि साईपाल गाउँपालिकाको भौगोलिक अस्मिता तथा समग्र देशको राष्ट्रियतामाथि प्रश्न उठ्ने गरी साईपाल गाउँपालिकामा रहेको माझा क्षेत्रमा अमेरिकी सेनाको बेसक्याम्प स्थापना भएको भनि विभिन्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जालहरूमा प्रसारण तथा प्रकाशन भएका कपोकल्पित तथा भ्रामक अभिव्यक्ति र सोसम्बन्धी गरिएका टिकाटिप्पणीका सम्बन्धमा यस साईपाल गाउँपालिकाको गम्भीर ध्यानाकर्षण भएको छ,’ अध्यक्ष बोहराले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
माझ क्षेत्र गाउँपालिकाको जडिबुटी संकलन क्षेत्र रहेको र नियमित रूपमा स्थानीय वासिन्दाको आवतजावत भइरहेको अध्यक्ष बोहराले जनाएका छन् ।
उनले गाउँपालिकाबाट उक्त क्षेत्रमा नियमित अनुगम भइरहेको जनाउँदै आगामी दिनमा भ्रामक समाचार प्रसारण तथा प्रकाशन गरिए कारबाहीको प्रक्रिया अगाडि बढाउने बताए ।