News Griha :: न्यूजगृह
पर्सामा मिटरब्याजीसम्बन्धी झन्डै एक हजार उजुरी

वीरगञ्ज— जिल्ला प्रशासन कार्यालय पर्सामा हालसम्म अनुचित लेनदेन (मिटरब्याजी) सम्बन्धी नौ सय ८४ वटा निवेदन दर्ता भएको छ ।

मिटरब्याजीहरुको कारण दुःख पाएको भन्दै पीडितले हालसम्म नौ सय ८४ वटा निवेदन दर्ता गराएको जिल्ला प्रशासन कार्यालय पर्साका मिटरब्याजी पीडित सहायता कक्षका प्रमुख गौरीशङ्कर साहले जानकारी दिए ।

सरकारले मिटरब्याजीविरुद्ध अध्यादेशमार्फत कानुन बनाइ ठगी गर्ने साहुहरूलाई कानुनी कारबाही गर्ने निर्णय बमोजिम पीडितहरूले न्यायका लागि निवेदन दिएको उनले बताए ।

जिल्ला प्रशासन कार्यालयले १५ वैशाशमा मिटरब्याजी पीडितहरूलाई निवेदन दिन सूचना निकालेपछि १७ वैशाखदेखि निवेदन आउन सुरु भएको प्रमुख साहले बताए ।

अधिकांश पीडितहरूले स्वयं आफैं निवेदन लिएर जिल्ला प्रशासन कार्यालयमा निवेदन दर्ता गराउने उनको भनाइ छ ।

गरिबी र सोझोपनको फाइदा उठाउँदै साहुहरूले दिएको रकमको तिहाइ, चौथाइ कपाली कागज गराउनाका साथसाथै जग्गासमेत आफ्नो नाममा साहुहरूले दर्ता गराई अन्याय गरेको अधिकांश पीडितले उजुरीमा उल्लेख गरेका छन् ।

पीडितहरूको निवेदन दिने चाप बढेको हुनाले १४ जेठसम्म निवेदन लिने गरी समय बढाइएको उनले बताए ।

प्रकाशित मिति: मंगलबार, जेठ ९, २०८०  ०६:१५
Weather Update