News Griha :: न्यूजगृह
गणतन्त्रवादीलाई पूर्वराजाको प्रश्न– नयाँ नेपाल भनेको यही हो ? 

धनगढी— पूर्वराजा ज्ञानेन्द्र शाहले जनतालाई नेताहरूले अल्मल्याएको बताएका छन् । धनगढीमा नागरिक अभिनन्दनका क्रममा शाहले जनतालाई झुक्याउँदै आफ्नो स्वार्थसिद्ध गर्ने नेताहरूको प्रपञ्च खुल्दै गएको बताएका हुन् ।

‘नयाँ नेपाल’ प्रति व्यंग्य गर्दै शाहले प्रश्न गरे, ‘के नयाँ नेपाल भनेको यही हो ? अग्रगामी नेपाल यही हो ? के नेपालको आफ्नो अस्तित्व छैन ? हामी वीर परिश्रमी र स्वाभिमानी नेपाली तर आज हाम्रो वीरता र स्वाभिमान, श्रम, सीप सबैथोक खोसिएको त छैन ?’

Prabhu Bank

‘नेपाली जनतालाई आफ्नो भू–भाग र आफ्नो राष्ट्रिय अस्तित्व हुँदाहुँदै शरणार्थी बनाएर अर्काको देशमा श्रम पसिना बगाउन पठाएर आज जे हर्कत गरिरहेका छन्, त्यसबाट हाम्रो इज्जत, गौरव सबै लोप भएर गएको छ । देशभित्रै बसौं, देशमै पसिना बगाउँ र आफ्नो पौरखले आफ्नै देश सपारौं भन्ने भावना हराउँदै गएको छ,’ उनले थप भने ।

शाहले नेपालक दारुण दृश्य देख्दा सबैको आँखा रसाउँदै गएको बताउँदै गर्दै आजको युग विकास र प्रविधिको भएको, आफ्नै स्रोत साधन, आफ्नै सामर्थ्य र आफ्नै स्वतन्त्र सत्ताद्वारा नेपालीले आफ्नो युगानुकूल उन्नति चाहेको बताए ।

उनले भने,‘सोच्ने बेला आयो । अब कुन के कस्तो राष्ट्रिय दृष्टिकोण हामीले लिने ? कस्तो प्रणाली, पद्धति र परिपाटी हामीले अँगाल्ने ? सोचौं गहिरिएर । अझ दिलैदेखि सोचौं । नेपाली भएर सोचौं । नेपाल आमाको हावापानी, माटो र मुटुलाई छोएर सोचौं । देशभन्दा ठूलो अरू केही हुँदैन ।’

उनले नेताहरूलाई इंगित गर्दै भने,‘आजको टड्कारो अवस्थालाई नदेखेको र नबुझेको जस्तो गरेर, कुरा बटारेर, अरूलाई अल्मल्याएर र निषेध गरेर अनि कोठे र ओठे जवाफ फर्काएर नेपाल र नेपालीको भविष्य सप्रिदैन । भोलिको सुन्दर सपनालाई साकार र विपना बनाउन नेपाली मत, मान्यता तथा मनोभावना अनुसार नेपाली जनतालाई नै जिम्मा दिउँ । यसैमा हाम्रो कल्याण छ ।’

उनले भोलिको नेपाल बनाउन नेपाली जनतालाई नै जिम्मा दिन पनि अपिल गरेका छन् ।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: सोमबार, जेठ ८, २०८०  २०:०३
राजनीति
विशेष
Weather Update