
काठमाडौं— बलात्कारपछि हत्या गरेर फरार दुई जनालाई प्रहरीेले १६ वर्षपछि पक्राउ गरेको छ । पक्राउ पर्ने धनकुटा शहीदभूमि गाउँपालिका–१ का ५६ वर्षीय चन्द्रबहादुर राई र ४४ वर्षीय कल्पन राई रहेका छन् ।
जिल्ला प्रहरी सुनसरीको भनाइमा उनीहरूले २३ मंसिर ०६४ मा धरान उपमहानगरपालिका–१२ की २५ वर्षीया ललिता राईलाई बलात्कारपछि हत्या गरेका थिए ।
उनीहरूले ललितालाई सुनसरीस्थित धरानको बलभद्रेश्वर अरुणोदय धर्मशालामा लगि पालैपालो बलात्कार गरेका थिए । ललिता चिच्याउन थालेपछि पोल खुल्ने डरले उनीहरूले हत्या गरेका थिए । त्यसयता उनीहरू फरार थिए ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डीएसपी राजकुमार राईले बलात्कारपछि हत्यामा संलग्न दुई अभियुक्तलाई घटनाको १६ वर्षपछि पक्राउ गरिएको बताए ।
उनले भने,‘१६ वर्षअघि एक बालिकाको बलात्कारपछि हत्या भयो । अभियुक्तको खोजीमा प्रहरी थियो । यही क्रममा उनीहरु धनकुटामा लुकेर बसेको सूचना आयो । खोज्दै जाने क्रममा उनीहरू पक्राउ परे ।’
प्रहरीका अनुसार पक्राउ दुवै अभियुक्तलाई अनुसन्धान गर्न जिल्ला अदालत सुनसरीबाट १० दिनको म्याद थप भएको छ । घटनामा पक्राउ परेका दुवै अभियुक्तले अभियोग स्वीकार गरेको प्रहरीको भनाइ छ ।