News Griha :: न्यूजगृह
हावाहुरीसँगै वर्षा हुन थालेपछि...

ताप्लेजुङ— हावाहुरीसँगै वर्षा हुन थालेपछि सुरेश लिम्बूको मन भौँतारिन थाल्छ । उनी यसो माथि घरको छानो हेर्छन् । छानोदेखि तपतप पानी चुइँ रहेको हुन्छ । पानीको थोपा नझर्ने घरको कुना खोज्दाखोज्दै उज्यालो हुन्छ ।

यो दृश्य हो ताप्लेजुङको मिक्वाखोला गाउँपालिका– ४ साँवाका सुरेश लिम्बूको घरको बसाइको अवस्था । गाउँपालिकाको प्रशासकीय केन्द्र रहेकै वडामा एक परिवार जीर्ण घरमा बस्दै आएका छन् । लिम्बू परिवार फुस (खर) ले छाएको चुहिने घरमा जोखिम मोलेर बस्दै आएका छन् ।

लिम्बूको परिवारमा दुई छोरा, दुई छोरी र श्रीमती छन् । छ जनाको परिवार रहे पनि अधिकांश समय लिम्बूकी श्रीमती रीता र कान्छी छोरी माया उक्त घरमा बस्दै आएका छन् । 

ठूलो पानी पर्दा घरभित्र आहाल (पानीजम्ने) हुने र चुल्होमा आगो बाल्नै नमिल्ने अवस्था हुने मायाले बताइन् । ‘कुनै समय ठूलो पानी परेका बेला रातभर नसुती (जाग्राम) बस्ने गरेका छौँ,’ उनले भनिन्। गाउँपालिका र वडाका जनप्रतिनिधिले सहयोग गर्ने कुरा के छ ? भन्ने प्रसङ्गमा आफूलाई केही थाहा नभएको उनले बताइन्  । 

घरमूली लिम्बूले आफ्नो घरको व्यवस्थापन गर्नेतर्फ खासै चासो नदिएकाले पनि थप संरचना जीर्ण बन्दै गएको छरछिमेक बताउँछन् । 

लिम्बूको घरको दयनीय अवस्थाबारे आफूलाई कुनै जानकारी नभएको मिक्वाखोला गाउँपालिका अध्यक्ष भक्तबहादुर कार्कीले बताए। लिम्बूको घर संरचनाको अवस्था हेरेर तत्काल छानो व्यवस्थापनमा सहयोग गर्ने उनले प्रतिवद्धता जनाए । रासस 

प्रकाशित मिति: आइतबार, जेठ ७, २०८०  १०:२५
Weather Update