
झापा— झापा बिर्तामोडका भूमिहीन तथा सुकुम्बासीले आफूहरूलाई हटाएको ठाउँमा भू–माफियाले महल ठड्याएकामा आपत्ति जनाएका छन् ।
नेकपा माओवादी केन्द्र बिर्तामोड नगर कमिटीले शनिबार आयोजना गरेको भूमिहीन सुकुम्बासी समस्या, चुनौती र समाधान विषयक अन्तरक्रियामा उनीहरूले गरिब, निमुखा सुकुम्बासी हटाएकामा गुनासो गरेका हुन् ।
कार्यक्रमका सहभागी रमेश मुर्मूले राष्ट्रिय भूमि आयोगका सदस्यलाई बिर्तामोड नगर क्षेत्रभित्रको सुकुम्बासीसम्बन्धी कार्य प्रगतिबारे जिज्ञासा राखे । उनले जिल्लाका अन्य पालिकामा काम भइरहे पनि बिर्तामोडमा आयोगले काम गर्न र लगत उठाउन ढिलो किन ? गरेको जनाउँदै प्रश्न गरे ।
अर्का सहभागी बिर्तामोड–१० का मानबहादुर श्रेष्ठले सुकुम्बासीलाई नगरवासी बनाइदिन आयोगका सदस्यलाई आग्रह गरे । पूर्व–पश्चिम रेलमार्गले धेरै सुकुम्बासीको उठिबास हुनलागेको जनाउँदै उनले चिन्ता व्यक्त गरे । ‘मुआब्जाका लागि हामीसँग धनीपुर्जा छैन’,उनले भने,‘घरबास नै उठ्ने अवस्था छ, धनीपुर्जा छैन, हाम्रो उठीबास हुने भयो ।’
कम्युनिस्ट पार्टीले सर्वहाराको पक्षमा काम गर्ने भन्ने गरिए पनि बिर्तामोड नगरपालिकाका प्रमुख र उपप्रमुख दुवै जना कम्युनिस्ट भए पनि सुकुम्बासीको समस्या समाधानमा चासो नदिएको उनको गुनासो छ ।
सहभागीको प्रश्नको जवाफ दिँदै राष्ट्रिय भूमि आयोग झापाका सदस्य सानुकुमार लामाले बिर्तामोड नगरपालिकाले आयोगमा सुकुम्बासीको सूची नै नपठाएको बताए । समस्या लिएर नगरपालिका जाने सुकुम्बासीलाई आयोगमा जानु भनेर पठाउने तर आयोगमा कुनै कागजात नपठाउँदा धेरै मानिसले दुःख पाइरहेको उनको भनाइ छ ।
साविकमा वन जनिएको जग्गा एकपटकलाई भए पनि जो बसेको छ उसलाई धनीपुर्जा दिनु भन्ने नियमावलीमा उल्लेख भएको उनले बताए । ‘स्थानीय पालिकाले निस्सा नबाँडी अन्य प्रक्रिया नै सुरु हुँदैन’, उनले भने । कार्यक्रममा उपस्थित अधिकांशले बिर्तामोडमा निस्सा नपाएको बताएका छन् ।
कार्यक्रमका नेकपा माओवादी केन्द्रीकी केन्द्रीय सदस्य धर्मशीला चापागाईँले सुकुम्बासीको समस्या जटिल भएको जनाउँदै आफूले २०४८ सालदेखि समस्या समाधान गर्न पहल गरिरहेको बताइन् ।