
काठमाडौं— काठमाडौं महानगरपालिकाले बालबालिकालाई ट्राफिक नियम, सडक सुरक्षा र सडक अनुशासनबारेमा व्यवहारिक ज्ञान दिनका लागि ट्राफिक क्लब गठन गरेको छ । कामपाले शनिबार डिल्लीबजारमा रहेको पद्मकन्या माध्यमिक विद्यालयमा क्लब गठन गरेको हो ।
क्लब गठनपछिको प्रतिक्रियामा कामपाको प्रमुख बालेन साहले भने,‘मैले प्रमुख पदमा उम्मेदवारी दिने समयमा ट्राफिक व्यवस्थापन गर्ने कामलाई प्रमुख प्राथमिकतामा राखेको थिएँ । मतदातासँग त्यसबेला गरिएको प्रतिबद्धता पूरा गराउने कार्यक्रम सुरु गरेको हुँ ।’
उनले नेपालमा नै पहिलोपटक विद्यालयमा ट्राफिक क्लब स्थापना गरिएको दाबी गरे । क्लब गठन गरिएसँगै बालबालिकालाई ट्राफिक नियम, सडक सुरक्षा र सडक अनुशासनबारेमा व्यवहारिक ज्ञान दिनका लागि ठूलो सहयोग पुग्ने विश्वास कामपाको छ । क्लबमा १० जना सदस्य रहनेछन् ।
उनका अनुसार गठन गरिएको क्लबले जेब्रा क्रसको सङ्केत राखिएको ठाउँबाट मात्र सडक पार गर्नुपर्छ । रातो बत्ती बलेको बेलामा बाटो काट्न हुँदैन । चालक तथा यात्रुले सङ्केत बत्तीको निर्देशन पालना गर्नुपर्छ । ‘स्टप’मा रोकिने, ‘गो’ मा मात्र जाने बानीको विकास गराउनुपर्छ । यी विषयमा बाल्यकालको शिक्षासँगै ज्ञान दिन क्लबका क्रियाकलापले महत्वपूर्ण भूमिका खेल्नेछन् ।
क्लबलाई ट्राफिक कोन, स्टप, गो बोर्ड, ब्याटन लाइट, फ्लोरोसेन ज्याकेटलगायतका आवश्यक सामग्री दिइएको छ । क्लब गठनको यो थालनी हो । उक्त क्लबले विद्यालयको पिकआवरमा बाटो काट्नका लागि सहयोग हुन्छ भन्ने अपेक्षा लिएको छ ।
अहिले एउटा विद्यालयमा मात्रै क्लब गठन गरिएको भए पनि आगामी दिनमा कामपाको ८९ वटै सामुदायिक विद्यालयमा गठन गर्ने तयारी छ ।