News Griha :: न्यूजगृह
सवारी चालक अनुमतिपत्र अब एक सातामै : यातायात मन्त्री ज्वाला

भक्तपुर भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) लिने झन्झटिलो प्रक्रियाको अन्त्य गर्दै अब एक हप्ताभित्र प्राप्त गर्ने व्यवस्था गर्न लागिएको बताएका छन् ।

पूर्व अरनिको यातायात प्रालिले सञ्चालनमा ल्याएको निःशुल्क स्कुल बस सेवाको शनिबार उद्घाटन गर्दै उनले सवारी चालक अनुमतिपत्र प्राप्त गर्ने सम्पूर्ण झन्झटिलो व्यवस्थाको अन्त्य गर्न आफू लागिरहेको बताए ।

 मन्त्री ज्वालाले भने, 'सवारी चालक अनुमतिपत्र लिन घण्टौँ लाइन बस्नुपर्ने, सेवाग्राहीले धेरै झन्झट बेहोर्नुपर्ने, चालक अनुमतिपत्र लिन एक वर्ष गर्नुपर्नेजस्ता यहाँभित्रका धेरै बेथिति केलाएका छौँ, त्यसको अब अन्त्य गर्छौँ, अब हप्ता दिनमै सवारी चालक अनुमतिपत्र पाउने व्यवस्था गर्दैछौँ ।'

नागरिकले सवारी चालक अनुमतिपत्र समयमै प्राप्त गर्नका लागि थप प्रिन्टर मेसिन खरिद गरेर लामो लाइनमा बस्नुपर्ने र लामो समय कुर्नुपर्ने अवस्थाको अन्त्य गर्ने प्रक्रिया अगाडि बढाएको उनले बताए । कतिपय व्यवस्थालाई परिवर्तन गर्न कानुन नै बाधक बन्ने र त्यस्ता कानुनलाई संशोधन गरेर सहज बनाउँदै लानुपर्ने बताउँदै मन्त्री ज्वालाले भने, 'अहिले सवारी चालक अनुमतिपत्रको नवीकरण पाँच वर्षमा गर्नुपर्ने कानुनी व्यवस्था छ, त्यसलाई संशोधन गरी १० वर्ष पुर्याउने भएका छौँ, त्यसको प्रक्रिया पनि अगाडि बढाएका छौँ, स्मार्ट लाइसेन्सको अवधि २० वर्ष तर नवीकरण गर्नुपर्ने व्यवस्था पाँच वर्षमा गर्दा व्यवहारिक पनि भएन, त्यसैले अब नवीकरणलाई १० वर्षमा गर्ने व्यवस्था गर्न लागेका हौँ ।'

सडक पूर्वाधारमा लगानी बढाएर रोजगारीका अवसर सिर्जना गरी राष्ट्रलाई समृद्धितर्फ लैजान आफू लागिरहेको बताउँदै मन्त्री ज्वालाले अर्थतन्त्रमा आएको सङ्कटका कारण पूर्वाधारका क्षेत्रमा लगानी बढाउन नसक्ने अवस्था आए पनि जनतासँग प्रत्यक्ष जोडिने सडक भएकाले सडक क्षेत्रमा लगानी बढाउने प्रयास सरकारले गरिरहेको बताए । आफू मन्त्री भएर आएदेखि नै सडकलाई पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको बताउँदै ज्वालाले अलपत्र र रुग्ण अवस्थामा रहेका सडकका योजनालाई टुङ्गोमा पुर्याउन मन्त्रालयले समयमै गुणस्तरीय सडक निर्माण गर्न अभियान नै थालेको बताए ।

उनले सार्वजनिक सवारी सुरक्षित, भरपर्दो र थप सेवामुखी बनाउन प्रतिबद्धताका साथ काम गरिरहेको भन्दै यातायात क्षेत्रमा रहेका अव्यवस्था र जटिलतालाई सुधार्न मन्त्रालयले थालनी गरेको बताए । सडक पूर्वाधार राम्रो नहुँदासम्म यात्रुले सुविधा पाउन नसक्ने भन्दै उनले सडकलाई राम्रो बनाउने र दुर्गम ठाउँसम्म सुरक्षित सवारी सेवा पुर्याउन सडक पूर्वाधारमा लगानी बढाउनुपर्नेमा जोड दिए । 

मन्त्री ज्वालाले भने, ‘मन्त्रालयको बढी चासो सडकको स्तर राम्रो र सार्वजनिक सवारीसाधन सुरक्षित गर्नतर्फ रहेको छ, सवारी दुर्घटनाको कहालीलाग्दो अवस्थाको अब अन्त्य हुनुपर्छ, सकेसम्म दुर्घटना नै नहोस्, भइहाले पनि कोही यात्रुको ज्यान नजाने अवस्था सिर्जना गर्नुपर्छ, त्यसका लागि सबै निकायसँग सहकार्य र समन्वय आवश्यक छ ।’

ट्राफिक व्यवस्थापनमा कडाइ गर्नुपर्ने तर यसका नाममा सवारी चालकले अनावश्यक दुःख पाउने अवस्था सिर्जना हुनु हुँदैन भन्दै उनले ट्राफिक प्रहरीले सहजीकरण र कडाइ दुवै गर्नुपर्ने बताए । मन्त्री ज्वालाले यातायात व्यवस्थासँग जोडिएका सवालमा यातायात व्यवस्था विभाग, ट्राफिक प्रहरी, सम्बन्धित सरोकारवालाले समन्वयात्मक ढङ्गले छलफल गर्दै समस्याको निकास निकाल्नुपर्ने औँल्याए ।
 

प्रकाशित मिति: शनिबार, जेठ ६, २०८०  २०:२८
Weather Update