News Griha :: न्यूजगृह
भुटानी शरणार्थीः टेकनाथ र आङटावाको बयान लिँदै सरकारी वकिल कार्यालय

काठमाडौं—जिल्ला सरकारी वकिलको कार्यालयले भुटानी अधिकारवादी नेता टेकनाथ रिजाल र संविधान सभा सदस्य आङटावा शेर्पाको बयान लिने भएको छ ।

नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै ठगी गरेको गिरोहसँग सम्बन्ध देखिएको आरोपमा उनीहरूको बयान लिन लागिएको हो । शनिबार भएपनि सरकारी वकिलको कार्यालयले उनीहरूको बयान लिन लागेको हो ।  मुद्दा अदालतमा पेश गर्नुपर्ने समय नजिकिइरहेको छ ।  नक्कली भुटानी प्रकरणमा प्रहरीले १२ चैत २०७९ मा ललितपुरका सानु भण्डारी, मोरङका केशव दुलाल र पाँथचरका टेक गुरुङलाई पक्राउ गरेको थियो । यसको तीन दिनपछि मोरङको पथरी शनिश्चरेका सागर राई पक्राउ परे । 

उनीहरूको बयानका आधारमा १९ वैशाख २०८० मा पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका तत्कालीन सुरक्षा सल्लाहकार डा. इन्द्रजित राई पक्राउ परे भने तत्कालीन गृहसचिव टेकनारायण पाण्डेलाई समेत प्रहरीले पक्राउ गर्यो । यो प्रकरणमा हालसम्म १६ जना पक्राउ परिसकेका छन् ।उनीहरु विरुद्ध सङ्गठित अपराध, ठगी, किर्ते लगायतका कसूरमा मुद्दा दर्ता गर्न रायसहितको अनुसन्धान प्रतिवेदन प्रहरीले जिल्ला सरकारी वकिल कार्यालयमा बुझाउने तयारी गरिरहेको छ । 

प्रकाशित मिति: शनिबार, जेठ ६, २०८०  ०८:०१
Weather Update