शान्ति सेना पाँचौँ डफ्फा लिबिया प्रस्थान, चौथो डफ्फा फर्किँदै

काठमाडौं— सेनानी रामेश्वर कार्कीको नेतृत्वमा संयुक्त राष्ट्रसंघको शान्ति मिसनमा स्पेशल गार्ड युनिट (शान्ति सेना) पाँचौँ डफ्फाका ११५ जना सैनिकको अन्तिम टोली लिबिया प्रस्थान गरेको छ ।
राष्ट्रसंघको आह्वानमा शान्ति स्थापना कार्यको लागि खटिने क्रममा बिहीबार यूएनएसएआईएल मिसन लिबियामा तैनाथ स्पेशल गार्ड युनिट (शान्ति सेना) चौथो डफ्फा बदली गर्न उक्त टोली गएको हो । नेपाल एअरलाइन्सको विमानमार्फत मिशन इलाकातर्फ प्रस्थान गरेको सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
प्रमुख सेनानी भाईकाजी थापाको कमाण्डमा खटिएको उक्त युनिटका ११५ जना सकलदर्जा यस अगावै मिशन इलाका पुगिसकेको सेनाले जनाएको छ ।
यस्तै, उक्त मिसनमा तैनाथ चौथो डफ्फाका ११५ जना शान्ति सैनिक सेनानी अनन्त बहादुर सिंहको नेतृत्वमा शुक्रबार स्वदेश फिर्ता हुनेछ ।
प्रकाशित मिति: शुक्रबार, जेठ ५, २०८० १४:२०