News Griha :: न्यूजगृह
मिथिलाञ्चलमा बटसावित्री पर्व मनाइँदै

जनकपुर— मिथिलाञ्चलका महिलाहरूले बटसावित्री पर्व धुमधामसँग मनाइरहेका छन् । महिलाहरूले बिहानै स्नान गरी पवित्र बनेर वट वृक्षमा जल फलफूल चढाउनुका साथै धागोले बटवृक्षमा बन्धन गर्ने परम्परा छ । 

जनकपुरधामको विभिन्न सरोवरको डिल तथा मठ मन्दिरको प्राङ्गणमा रहेका बटको वृक्षको पूजा गर्न महिलाहरूको घुइँचो लागेको छ ।

batsabitri-parva-11684472265.jpg

मिथिलाञ्चल क्षेत्रमा खास गरी नवविवाहिताका लागि यो पर्व अत्यन्त महत्वपूर्ण मानिन्छ । वृक्षको पूजा गरी वृक्ष झैँ अटल रूपमा श्रीमान अमर रहोस भन्ने आस्थाका साथ बटवृक्षको पूजा गर्ने प्रचलन छ । बट अर्थात् बरको रुख र सतिसावित्रीको जीवनसँग जोडिएको र बरको रुखमुनि बसेर पतिको दीर्घायुका लागि पूजा गर्ने गरिएकाले यस पर्वलाई बटसावित्री पर्व, बरसाइत पर्व पनि भन्ने गरिन्छ । 

batsabitri-parva-21684472264.jpg

हिन्दु धर्मको मान्यता अनुसार जेठ औँसीमा बरको रुखमा ब्रह्मा, विष्णु र महेश वास हुने भएकाले यो पर्वमा वर रुखको पूजा गरेको खण्डमा त्रिदेव खुसी हुने धार्मिक विश्वास छ । यस पर्वको अवसरमा विवाहिता स्नान गरी नववस्त्र धारण गरी आँप, लिच्ची, स्याउ, केरा, अकुरी मिठाइका साथै अनिवार्य रुपमा बाँसको नयाँ पंखा लिएर बरको रुखमुनि बसेर पूजा गर्ने चलन रहिआएको छ । नागनागिनका लागि धानको लाबा र दूध पनि चढाउने गरिन्छ ।

batsabitri-parva-31684472264.jpg

धार्मिक विधिपूर्वक आजको तिथिमा वरको रुखमुनि बसेर विवाहिताले पूजापाठ गरेको खण्डमा पति दीर्घायु हुने विश्वासका साथ यो पर्व मनाउने चलन रहिआएको छ । पहिला मैथिली ब्राह्मण, कायस्थ, देव र स्वर्णकार जातिका महिलाहरू मात्रै मनाउथे । अहिले अधिकांश जातिका महिलाहरूले मनाउने गरेको देखिन्छ । नवविवाहितालाई पहिलोपल्ट पर्व मनाउन ससुरालीबाट नयाँ वस्त्रका साथै विभिन्न प्रकारका कोसेली, माटोको कलात्मक नाग, नागिन, गौरी र बेहुलाबेहुलीको मूर्ति पठाउने गरिन्छ । सर्पको डसाइबाट जोगिने उद्देश्यले नागनागिनको पूजा गरिन्छ । महिलाहरू एक ठाउँमा बसेर वटसावित्रीको कथा सुन्ने गरेको परम्परा छ ।

प्रकाशित मिति: शुक्रबार, जेठ ५, २०८०  १०:३५
Weather Update