
काठमाडौं— वैदेशिक रोजगारीको प्रलोभन देखाएर चालु आर्थिक वर्षको १० महिनामा गैरकानुनी बिचौलिया र एजेन्टहरूले झण्डै ७६ करोड रुपैयाँ ठगी गरेको पाइएको छ ।
वैदेशिक रोजगार विभागमा चालु आवको साउनदेखि वैशाखसम्म दर्ता भएका नौ सय २५ उजुरीमा ७५ करोड ७७ लाख ४१ हजार २१४ ठगी रकम दाबी गरिएको विभागले जनाएको छ ।
यो रकम दाबी वैदेशिक रोजगारीमा श्रमिक पठाउन अनुमति नै नपाएका गैरकानुनी एजेन्ट र बिचौलियाबाट भएको ठगीको जनाइएको छ ।
वैदेशिक रोजगारीमा श्रमिक पठाउनकै लागि विभागसँग अनुमति लिएका म्यानपावर कम्पनीबाहेक अन्य कोही पनि एजेन्टले रोजगारीका लागि श्रमिक पठाउन नपाउने सरकारी नियम भए पनि सरकारको नियमविपरीत एजेन्ट र बिचौलियाबाट हुने ठगीका उजुरी भने बर्सेनि बढ्न थालेको विभागका निर्देशक तथा सूचना अधिकारी गुरुदत्त सुवेदीले जानकारी दिए ।
उनका अनुसार अघिल्लो वर्षको तुलना चालु आवमा ठगी भएका उजुरीहरू बढेका छन् । विभागका अनुसार पछिल्लो केही समययता वैदेशिक रोजगारीमा श्रमिक पठाउन इजाजत नै नलिएका व्यक्तिहरूबाट भएको ठगीको उजुरी महिनामै सयभन्दा बढी पर्न थालेका छन् ।
विभागले गएको वैशाख महिनामा मात्रै एजेन्ट र बिचौलियाबाट भएको ठगीको एक सय चार वटा उजुरी परेको जानकारी दिएको छ । चालु आवको १० महिनामा एजेन्ट र बिचौलियाबाट भएको नौ सय २५ वटा ठगीको उजुरी विभागमा दर्ता भएका बताइएको छ ।