News Griha :: न्यूजगृह
हराएका २३ सवारीसाधन खोजी गरी ट्राफिक प्रहरीले बुझायो धनीलाई

काठमाडौं— काठमाडौं उपत्यका ट्राफिक प्रहरीले विभिन्न मितिमा हराएका २३ वटा दुई पाङ्ग्रे सवारीसाधन खोजी गरी सवारी धनीलाई बुझाएको छ ।

बिहीबार एक कार्यक्रममार्फत काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक पोषराज पोखरेलले १२ वटा मोटरसाइकल र ११ वटा स्कुटर धनीलाई बुझाएका हुन् ।

२३ वटासँगै चालु आर्थिक वर्षमा ४ सय २७ वटा सवारीसाधन ट्राफिक प्रहरीले धनीको जिम्मा लगाएको छ । चालु आर्थिक वर्षमै ३० वटा चोरीका दुई पाङ्ग्रे सवारीसाधनसहित चोरीमा संलग्न ३४ जनालाई आवश्यक कारबाहीका लागि विभिन्न प्रहरी परिसर तथा प्रहरी वृत्तमा पठाइएको ट्राफिक प्रहरीले जनाएको छ ।

सवारीसाधन हराएको निवेदनको आधारमा खोजी गर्ने क्रममा केही वास्तविक नम्बर प्लेटमै र केही नक्कली नम्बर प्लेट राखेको अवस्थामा फेला पारिएको ट्राफिक प्रहरीको भनाइ छ ।

काठमाडौं उपत्यकाको सुकेधारा, दरबारमार्ग, बालकुमारी, जगाती, नयाँ बसपार्क, मुलपानी, नेपालटार, नयाँ बानेश्वर, ठिमीलगायतका स्थानमा दुई पाङग्रे सवारीसाधन ट्राफिक प्रहरीले फेला पारेको हो ।

हराएका सवारीसाधन खोजतलास र चोरी नियन्त्रण कार्य निरन्तर हुँदै आए पनि स्वयम् सवारी धनी विशेष चनाखोका साथै सजक हुनुपर्ने बताउँदै ट्राफिक प्रहरीले  हराउनबाट जोगाउन आफ्नो सवारीसाधन सुरक्षित स्थानमा पार्किङ गर्ने, ह्वील लक, चेन लक, ह्यान्डिल लक, डिस्क लकलगायत सुरक्षा साइरनहरू जडान गर्नुपर्ने  बताएको छ ।

प्रकाशित मिति: बिहीबार, जेठ ४, २०८०  १९:२२
Weather Update