
काठमाडौं— लामो समयपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भएर करिब ९ केजी सुन तस्करी भएको रहस्य खुलेको छ ।
यो प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी)ले विस्तृत अनुसन्धान अघि बढाएको छ । विमानस्थल भएर ९ फागुन २०७३ मा भित्रिएको करिब ३३ केजी सुन ‘गायब’ पछि ठूलो परिमाणमा सुनको अवैध तवरले १० पुस २०७९ मा पैठारी भएको देखिएको हो ।
अवैध तवर भित्रिएको करिब ९ केजी सुन विद्युतीय चुरोट (ईसिगरेट) भित्र राखेर तस्करी भएको खुलेको छ। सीआईबीका अनुसार उक्त ईसिगरेट (भेप्स) चीनबाट आएको हो । ७३ प्याकेटमा भएको ७ सय ३० पिस भेप्स भन्सार कार्यालयले बरामद गरेको थियो ।
स्रोतका अनुसार पहिले जाँच गर्दाका फोटोहरूसँग तुलना गर्दा सामान फरक रहेको देखिएपछि गोदाम व्यवस्थापनमा खटिने नायब सुब्बा रेवन्त खड्कामाथि कार्यालयले सोधपुछ गर्यो । लामो केरकारपछि उनले आफूले सामान्य ठानेर लिलाम भएको अरू सामानसँगै त्यो ‘रिप्लेस’ गरेको जवाफ दिएपछि विमानस्थल भन्सार कार्यालयले सीआईबीमा जाहेरी दिएको थियो । अनुसन्धानको लागि सीआईबीले विमानस्थल भन्सार कार्यालयका नासु खड्कासहित चार जनालाई नियन्त्रणमा लिएको छ ।
सुन तस्करी प्रकरणमा अन्यको पनि संलग्नता हुन सक्ने भन्दै सीआईबीले उनीहरूको पनि खोजी गरिरहेको छ । पक्राउ परेकामध्ये एक जना सुन बिक्री गर्न जाने (बिचौलिया) हुन् भने दुई जना सुन खरिद गर्ने र गाल्ने व्यक्ति हुन् । प्रहरीका अनुसार भेप्स भित्र आएको सुन नासु खड्काले बिचौलियासँग मिलेर साटफेर गरेर ६ करोडमा बिक्री गरेका थिए ।
बिक्री गर्न खोजिएको १०० ग्राम मात्र सुन बरामद भएको छ र अरू खोजी भइरहेको स्रोतको भनाई छ । तस्करहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब ४ हजार किलो सुन तस्कर गरेको रहस्य खुलेको थियो ।
९ फागुन २०७३ मा त्रिभुवन विमानस्थलबाट तस्करी भएको साढे ३३ किलो सुन लुटिएपछि भरिया मोरङ उर्लाबारीका सनम शाक्यको १८ फागुन मा हत्या भएको थियो । साढे ३३ किलो सुन तस्करी र शाक्य हत्या प्रकरणको अनुसन्धान गर्न सरकारले गठन गरेको विशेष छानविन समितिले ५ वर्षमा विमानस्थल भएर करिब ४ टन सुन तस्करी भएको रहस्य पत्ता लगाएको थियो ।