
काठमाडौं— भारतीय नागरिकलाई नेपाली नागरिकता बनाइदिएको अभियोगमा प्रहरीले अदालतसमक्ष २४ अभियुक्तविरुद्ध पक्राउ पुर्जी माग गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार जिल्ला प्रशासन कार्यालय सप्तरीका प्रशासकीय अधिकृत किशोरकुमार राम, असई महेन्द्रप्रसाद चौधरी, राजविराज नगरपालिकाका–११ का वडाध्यक्ष उदितनारायण यादवसहित २४ अभियुक्तविरुद्ध पक्राउ पुर्जी माग गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रमुख एसपी नरेन्द्र कार्कीले भारतीय नागरिकलाई नेपाली नागरिकता बनाइदिने धन्दामा संलग्न अभियुक्तविरुद्ध अदालतसमक्ष पक्राउ पुर्जी माग गरिएको बताए ।
उनले भने,‘भारतीय नागरिकलाई नेपाली नागरिकता बनाउने धन्दामा सरकारका कर्मचारीसहितका व्यक्ति संलग्न भएको देखियो । अनुसन्धानका लागि पक्राउ गर्नुपर्ने देखियो । त्यसो हुँदा उनीहरुविरुद्ध प्रहरीले अदालतसमक्ष पक्राउ पुर्जी माग गरेको छ ।’
झुटो विवरण पेश गरी नागरिकता लिने भारतीय नागरिक सतिश यादव र सूर्यनारायण यादवलाई प्रहरीले पक्राउ गरेका थियो । उनीहरुलाई जिल्ला अदालत सप्तरीले १ जेठमा एक–एक लाख रुपैयाँ धरौटीमा छाडिसकेको छ ।
प्रहरीका अनुसार सतिशले २१ फागुन ०७९ मा नेपाली नागरिकता लिएका थिए । उनी हजुरबुबा सूर्यनारायणसँगै राजविराज बस्दै आएका थिए । उनले हजुरबुबालाई बुबा बनाएर नेपाली नागरिकता लिएका थिए ।
धन्दामा जिप्रका सप्तरीका प्रशासकीय अधिकृत किशोरकुमारसहित जिल्ला प्रहरी कार्यालयका असई महेन्द्रप्रसाद र अन्य तीन प्रहरी, राजविराज नगरपालिका–११ का वडाध्यक्ष उदितनारायण, वडा सचिव हरिनारायण यादव संलग्न रहेको प्रहरीको भनाइ छ । प्रहरीले ३१ वैशाखमा उनीहरुविरुद्ध मुद्दा दायर गरेको थियो ।