News Griha :: न्यूजगृह
आफैंले बेचेको जग्गा कीर्ते कागजात बनाएर आफ्नै नाममा,भोगचलन गर्दै आएकाको उठिबास

धनगढी— डडेल्धुराका लालबहादुर बोहरा कैलालीको बगपुरमा बस्न थालेको दुई दशक नाघिसकेको छ । उनी परिवारका साथमा जंगल किनारमा घर बनाएर गुजारा गरिरहेका छन्  । २०५१ सालमा सुकुम्बासी समस्या समाधान आयोगबाट एक व्यक्तिले प्राप्त गरेको जग्गा २०५५ सालमा उनले किनेका थिए ।

धनगढी उपमहानगरपालिका वडा नम्बर १४ बगपुरमा रहेकाे उक्त १० कठ्ठा जग्गा डडेल्धुराको गन्यापधुरा गाउँपालिका वडा नम्बर ५ रेलका लालमणि ओझाले सुकुम्बासी समस्या समाधान आयोगबाट २०५१ मा पाएका थिए ।

आयोगबाट ‘सुकुम्बासी हुँ’ भन्दै लिएको जग्गा ओझाले २०५५ साल २४ चैतमा स्थानीय लालबहादुर बोहरालाई बेचे । ओझाले २ लाख रुपैयाँ लिएर लालपुर्जा निकाल्ने समयमा बोहराको नाममा नामसारी गरिदिने शर्तसहित तमसुकमा हस्ताक्षर गरे ।

Prabhu Bank

बोहरा परिवारले सोही तमसुकलाई प्रमाण मानेर घर बनाए । उनले किनेको दशकौंपछि उक्त जग्गा नजिकैबाट बाटो बन्यो । लामो समयदेखि उक्त जग्गाको भोगचलन गर्दै आएका बोहरा परिवार अहिले घरबारविहीन हुनु परेको छ । ओझाले बोहरालाई थाहै नदिएर जग्गाको लालपुर्जा आफ्नो नाममा निकालेपछि बोहरा परिवार घरबारविहीन हुनु परेको हो ।

ओझाले २०५५ सालमा बिक्री गरेको जग्गा वडा कार्यालयसँग नै जालसाजी गरी पुनः आफ्नै नाममा दर्ता गरेका छन् । मालपोत कार्यालयबाट लालपुर्जा निकाल्न ओझाले वडाको कीर्ते कागजपत्र तयार गरेको खुल्न आएको छ । ओझालाई कीर्ते  कागजपत्र तयार पार्न उनका ज्वाइँ नाता पर्ने ‘सी’ गाउँका जयानन्द भट्टले सघाएको पाइएको छ ।

भट्टले वडा कार्यालयको तर्फबाट फर्जी सरजमिन मुचुल्का तयार गरेको भेटिएको छ । वडाले जग्गाको भोगचलन कसले गरेको छ भनेर सरजमिन मुचुल्का चाहिने भनेपछि भट्टले वडा सचिवको कीर्ते हस्ताक्षरसहित मुचुल्का तयार पारेको भेटिएको छ । भट्टले तयार पारेको उक्त कीर्ते सरजमिन मुचुल्कामा बगपुरका कुनै पनि व्यक्तिको बयान र नाम उल्लेख छैन ।

भट्टकै योजनामा बगपुरभन्दा बाहिरका मान्छेलाई सरजमिनमा राखिएको पाइएको छ । सरजमिन मुचुल्कामा साँधसँधियारको ठाउँमा अन्यत्रका मान्छेलाई राखिएको वडा कार्यालयले जनाएको छ । भट्टसहित रामकुमार चौधरी, वीरेन्द्रबहादुर विष्ट, रामबहादुर चौधरी र शेरबहादुर थापामगर सार्जमिन मुचुल्कामा साक्षी बसेका छन् ।

२४ वर्ष अगाडि बिक्री गरेको जग्गाको स्रेस्ता ओझाले आफ्नो नाममा दर्ता गर्न भट्टमार्फत धनगढी उपमहानगरपालिका वडा नम्बर १४ को कागजपत्र, सरकारी छाप दुरुपयोग र तत्कालीन वडा सचिव (हाल वडा नम्बर १७ मा छन्) टेकबहादुर खत्रीको हस्ताक्षर कीर्ते  गरेका हुन् ।

jagaaa dhanagadhi1684373634.jpg

२०७९ साल ८ पुसमा तयार गरिएको सरजमिन मुचुल्का, वडा कार्यालयको सिफारिस लेखिएको लेटरप्याड र आफ्नो हस्ताक्षर कीर्ते  गरिएको सचिव खत्रीको दाबी छ । ‘वडामा तयार गरिएको सरजमिन मुचुल्का र सिफारिस पत्र फर्जी बनाएका हुन्,’उनले भने,‘मेरो हस्ताक्षर पनि कीर्ते  गरिएको छ । मुचुल्का र सिफारिस पनि फर्जी बनाइएको हो । पुसमा गरिएको यो कुराको जानकारी मलाई भर्खरै मात्र गराइएको हो ।’

उक्त जग्गाको फर्जी सर्जमिन मुचुल्कामा भट्टले कार्यबाहक वडाध्यक्ष मानबहादुर खत्रीबाट सदर गराएका छन् । जग्गाको स्रेस्ता ओझाका नाममा कायम गर्न मालपोत कार्यालय धनगढीलाई लेखिएको सिफारिस पत्रमा पनि कार्यवाहक वडाध्यक्ष खत्रीले हस्ताक्षर गरेका छन् । तर,आफूलाई ओझासहित जयानन्द भट्ट र अन्य साक्षीहरूले झुक्याएर हस्ताक्षर गर्न लगाएको दाबी कार्यवाहक खत्रीको छ ।

‘म फिल्डबाट भर्खर वडामा आएको थिए । उनीहरूले सचिवको कोठाबाट म भएको कोठामा आएर हस्ताक्षर गर्न लगाए । सचिवले प्रक्रिया पुर्‍याएर नै मकहाँ पठाएको सोचें । गाउँमा मान्दै आएका मान्छे थिए । प्रक्रिया पुगे कै होला भनेर हस्ताक्षर गरेको हुँ,’ उनले भने, ‘जयानन्द भट्ट राम्रो सोचेको थिएँ, मलाई मज्जाले झुक्याए ।’

ओझाका लागि तयार गरिएको सिफारिस पत्र र सरजमिन मुचुल्का नक्कली भएको पुष्टि हुने प्रमाणहरू पनि भेटिएका छन् । भट्टले तयार परेको फर्जी सिफारिस मालपोत कार्यालय गएर हेर्दा नक्कली लेटरप्याडमा फर्म्याट नमिलाएरै सिफारिस गरिएको पाइएको छ ।

मुचुल्का र सिफारिस पत्रको बेहोरा, पत्रको चलानी नम्बर र राजश्व दाखिला नभएको पाइएको कार्यबाहक वडाध्यक्ष खत्रीको दाबी छ । लालबहादुरका छोरा खेम बोहरा आफू घरबारविहीन भएको भन्दै न्यायको लागि तड्पिरहेका छन् ।

‘हामीले २०५५ सालमा ओझाबाट २ लाख दिएर जग्गा किनेका हौं । जग्गा बिक्री गर्दा ओझाले बुबाको नाममा रजिष्ट्रेसन गरिदिने तमसुक दिएका छन्,’बोहराले भने,‘अहिले मालपोतबाट लालपुर्जा निकाल्दा भने ओझाले कीर्ते  कागजपत्र मिलाएर हाम्रो भोगचलनमा रहेको जग्गा आफ्नो नाममा दर्ता गरेका छन् ।’

कानुनी प्रक्रिया थाह नपाएकाले सबैतिरबाट धोका भएको बोहराले बताए । धेरैजसो समय भारतमै काम गर्ने बोहराले आइपरेको पीडा पनि प्रस्टसँग भन्न सक्दैनन् । बोहरा र ओझाको जग्गा विवाद अहिले कानुनी उपचारको क्रममा छ । उक्त बिचाराधीन अवस्थामा रहेको मुद्दामा सबैले साथ दिन बोहराले सबैमा अपिल गरिरहेका छन् ।

अदालतले मेलमिलाप गरेर आउनु भनेर खबर पठाएकाले वडाको संरक्षणमा सल्लाह गर्न खोज्दा भट्टले ‘अदालतमै निर्णय गर्छु किन वडामा जानु’ भनेर वडालाई इन्कार गरेको वडाका कार्यबाहक अध्यक्ष खत्रीले बताए । उक्त विषयमा जयानन्द भट्टसँग कुराकानी गर्न खोज्दा उनी सम्पर्कमा आएनन् ।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बिहीबार, जेठ ४, २०८०  ०७:२६
राजनीति
विशेष
Weather Update