
काठमाडौं— दक्षिण कोरिया जाने नेपाली कामदारहरूलाई अवैध रूपमा प्रिपेड सिमकार्ड वितरणका नाममा ठगी भइरहेको पाइएको छ ।
ललिपुरमा रहेको ईपीएस कोरिया शाखाको कार्यालय परिसरमा दक्षिण कोरिया जाने नेपाली कामदारहरूलाई अवैध रूपमा प्रिपेड सिमकार्ड वितरण भइरहेको पाइएको हो । सिमकार्ड निःशुल्क रूपमा वितरण भइरहेको भएपनि कोरिया घुम्न गएका विदेशीहरूले केही दिन प्रयोग गरेर छाडेको सिमकार्ड रहेको पाइएको छ ।
सिमकार्ड वितरण निशुल्क वितरण गर्ने भनिएपनि रिचार्ज गर्ने नाममा प्रतिव्यक्ति ३ हजार रुपैयाँसम्म उठाउने गरेको पाइएको ईपीएस कोरिया शाखाका निर्देशक पुष्पराज कटुवालले बताए । उनले अवैध रूपमा प्रिपेड सिमकार्ड वितरण भइरहेको पाइएपछि कार्य रोक्न नेपाल प्रहरी, वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग लगायत सम्बन्धित निकायलाई जानकारी दिएको बताए ।

अवैध रूपमा कोरियाको प्रिपेड सिमकार्ड बिक्री वितरण भइरहेको गुनासो आएसँगै गत ४ पुसमा प्रहरी र वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागलाई अनुगमन गरी कारबाही गर्न अनुरोध गर्दै पत्र काटेको उनले जानकारी दिए । कटुवालले सिमकार्ड वितरण कार्य नरोकिएपछि पुनः ३१ वैशाखमा दोस्रोपटक प्रहरीलाई जानकारी दिएको बताए ।
ईपीएस कोरिया शाखाका निर्देशक कटुवालले कार्यलय परिसर वरपर बीमा, फोटोकपी, प्रिन्टिङ लगायतका कार्यहरू बजार मूल्यभन्दा चर्को शुल्क लिइ ठगी गर्ने गरेको पनि बताए । उनले यस्ता ठगी कार्य तत्काल रोक्न सम्बन्धित निकायलाई अनुरोध गरिएको बताए ।
उनले ईपीएस कोरिया शाखाले अवैध सिमकार्ड वितरण र सेवाग्राहीहरूको फारम भर्ने लगायत सेवा सम्बन्धी अन्य कार्यहरू गर्दा उपोभोक्तलाई ठगी गर्ने गरेको बारे ताकेता गरेको करिब ५ महिना पुग्न लाग्दासमेत सम्बन्धित निकाय भने मौन देखिएको गुनासो गरे । हालसम्म प्रहरी र वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले अनुगमनसमेत गर्न नआएको उनले बताए ।