News Griha :: न्यूजगृह
धवलागिरिको चुचुरोतर्फ आरोही
तस्बिर छेपाल शेर्पाको फेसबुकबाट ।

म्याग्दी— करिब एक महिनाको पर्खाइपछि आरोहीहरु म्याग्दीस्थित धवलागिरि हिमालको चुचुरोतर्फ लागेका छन् । आठ हजार एक सय ६७ मिटर अग्लो उक्त हिमाल म्याग्दीको धवलागिरि गाउँपालिका–४ मा पर्छ ।

गत चैत महिनाको अन्तिम सातादेखि आधार शिविरमा रहेका आरोहीहरु धवलागिरिको चुचुरोको नजिकै पुगेका त्यहाँ रहेका छेपाल शेर्पाले आफ्नो फेसबुकमार्फत जानकारी गराएका छन् ।

छ हजार एक सय मिटर उचाइको धवलागिरिको दोस्रो आधार शिविरबाट सोमबार करिब सात हजार मिटर उचाइमा रहेको तेस्रो शिविरमा आरोही पुगेका उनले बताए ।

धवलागिरिको पहिलो, दोस्रो र तेस्रो आधार शिविरसम्म शेर्पाहरुले आरोहीका लागि बाटो बनाइसकेका छन् । दैनिकजसो पानी परेको र हिमपात भएकाले आरोहीहरुलाई समस्या भए पनि  स्पेनका ८३ वर्षीय कार्लोस सोरियाको टोली क्याम्प–३ मा पुगेको छ ।

मौसमले साथ दिएमा मंगलबार चौथो आधार शिविर पुग्ने तयारी गरेको उक्त टोली बुधबारसम्म धौलागिरिको चुचुरो चुम्ने योजनामा छ । कार्लोसको आरोहण दलको नेतृत्व सेभेन समिट ट्रेकङि कम्पनीका मिङ तेम्बा शेर्पाले गरेका छन् । यो उनको १३औं पटकको प्रयास हो ।

प्रकाशित मिति: मंगलबार, जेठ २, २०८०  १९:०७
Weather Update