काठमाडौं— प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधिसँग छलफल गरेका छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सोमबार आयोजित छलफलमा उनले मुलुकको पछिल्लो राजनीतिक अवस्था, आर्थिक परिदृश्य र विदेश नीतिका बारेमा कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधिलाई जानकारी दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
प्रधानमन्त्री दाहालले स्थानीय निर्वाचनदेखि सङ्घीय संसद्को निर्वाचन हुँदै पछिल्लो पटक सम्पन्न उपनिर्वाचनसम्मको घटनाक्रमका बारेमा सविस्तार जानकारी गराएका थिए । सङ्घीय संसद्को निर्वाचनको परिणाम गठबन्धन सरकारको पक्षमा देखिएकाले सोहीअनुसार वर्तमान सरकार गठन भएको प्रधानमन्त्रीको भनाइ छ ।
निर्वाचनमा जनताले दिएको मतअनुसार नै गठबन्धन गरेर सरकार गठन गरेको र समावेशी लोकतान्त्रिक अभ्यास गरिहेको प्रधानमन्त्रीको भनाइ छ । नेपालीकै प्रयासमा शान्तिप्रक्रियालाई करिब सम्पन्न गरेको र बाँकी रहेका कामलाई सत्य निरुपण मेलमिलाप तथा बेपत्ता छानबिन आयोग बनाएर अगाडि बढाइएको प्रधानमन्त्रीको भनाइ छ ।
प्रधानमन्त्रीले मानवअधिकारको गम्भीर उल्लंघनका घटनामा कुनै पनि प्रकारको आममाफी नदिइने प्रतिबद्धता व्यक्त गरे । उनले विश्वव्यापी महामारीका रूपमा देखापरेको कोरोनाका कारण आफूहरू पनि अछुतो नरहेको उल्लेख गर्दै त्यसबाट देशको अर्थतन्त्रमा ठूलो असर गरेको र हाल सुधारोन्मुख रहेको बताए ।
विश्व शान्ति र सुरक्षा, दिगो विकास, मानव अधिकार र जलवायु परिवर्तन जस्ता महत्त्वपूर्ण विश्वव्यापी मुद्दामा नेपालको संलग्नता र योगदानलाई थप सुदृढ पार्दै लैजाने सोच राखेको प्रधानमन्त्रीको भनाइ छ । रासस