
बाग्लुङ— ढोरपाटन शिकार आरक्षमा यस वर्षको शिकार याम सकिएको छ । शिकारीले नाउर र झारलको शिकार गरेर फर्किएसँगै शिकार याम अन्त्य भएको हो ।
दोस्रो शिकार याममा ढोरपाटनमा १२ नाउर र छ झारलको शिकार भएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले दोस्रो शिकार यामको लागि नौ झारलको कोटा निर्धारण गरे पनि तीन झारलको कम शिकार भएको हो ।
हिमालयन सफारिज प्रा.लि.बाट आएका तीन विदेशी शिकारीले यसपटक निर्धारित कोटामा तीन झारलको शिकार गर्न नसकेको ढोरपाटन शिकार आरक्षका प्रमुख संरक्षण अधिकृत वीरेन्द्र कँडेलले बताए ।
बोलपत्र प्रक्रियाबाट छानिएका सात कम्पनीमार्फत आठ देशका पेसेवर विदेशी शिकारीले यस वर्षको दोस्रो याम (फागुन–वैशाख) मा शिकार गरेका थिए । यसपटक शिकारीले एक नाउरको पाँच लाख २० हजारदेखि सात लाख ८० हजारसम्म र झारलको तीनदेखि तीन लाख १० हजारसम्म राजस्व तिरेका थिए ।
पहिलो याममा एक नाउरको २० लाख पाँच हजार र झारलको छ लाख रुपैयाँ राजस्व बुझाइएको थियो । शिकारको माग बढी हुँदा राजस्वको दर पनि बढ्ने र माग घट्दा राजस्व पनि घट्ने गरेको छ । यस वर्षको पहिलो सिजनमा आठ नाउर र छ झारलको शिकार कोटा निर्धारण गरिए पनि सात नाउर र पाँच झारलको शिकार भएको थियो ।
आरक्षमा शिकार गरेपछि अधिकांश शिकारीले मासु खान्छन् भने सिङ, खुर र छाला मात्रै आफ्नो देशमा लैजान्छन् ।अन्तर्राष्ट्रिय तहमा हुने प्रतियोगितामा उनीहरूले सिङको प्रतिस्पर्धा गरेर ट्रफी जित्ने गरेका छन् ।