News Griha :: न्यूजगृह
युवक हत्या घटनामा चार पक्राउ, कुकुरबाट अनुसन्धान

सप्तरी— सप्तरीको रुपनी गाउँपालिका–१ मा आइतबार भएको हत्या घटनाको अनुसन्धानका लागि प्रहरीले चार जनालाई नियन्त्रणमा लिएको छ ।

सप्तरीको शम्भुनाथ नगरपालिका–२ खैरबोनाका २० वर्षीय तफेजुलको हत्या घटनाको अनुसन्धानका लागि रुपनी–१ का चार जनालाई नियन्त्रणमा लिएको र उनीहरूलाई सोधपुछका लागि जिल्ला प्रहरी कार्यालय ल्याइएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक नरेशकुमार सिंहले बताए ।

पूर्व–पश्चिम राजमार्गस्थित सडक किनारको खेतमा तफेजुलको हत्या भएको अवस्थामा आइतबार शव फेला परेको हो ।

मृतकको शरीरमा नीलडाम र घिसारिएको चोट र दाग रहेको छ । शवलाई पोष्टमार्टमका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ ।

हत्याको कारण र आरोपितको पहिचान हुन नसकेको तथा अनुसन्धान भइरहेको सिंहले बताए । धनुषाको मिथिला नगरपालिकास्थित लालगढको केनाइन शाखाको तालिम प्राप्त कुकुरले घटनास्थलमा अनुसन्धान गरेको छ ।

प्रकाशित मिति: आइतबार, वैशाख ३१, २०८०  २२:०९
Weather Update