
काठमाडौं— पशुपति क्षेत्र विकास कोषले पशुपति आर्यघाटस्थित विद्युतीय शवदाह गृहमा दाहसंस्कारका लागि ल्याइने शवलाई निःशुल्क शवदाहको व्यवस्था गर्ने भएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उडडयन मन्त्रालयमा बसेको कोष सञ्चालक परिषद्को बैठकले थप चार विद्युतीय शवदाह गृहको व्यवस्था गरी निःशुल्क दाहसंस्कारको व्यवस्था गर्ने निर्णय गरेको कोषका सदस्य सचिव डा.मिलनकुमार थापाले जानकारी दिए ।
‘कोषले कार्यविधि निर्माण गरेपछि कोष सञ्चालक परिषद्ले उक्त कार्यविधि पारित गर्ने छ । यसका लागि केही समय लाग्ने छ’,उनले भने । पशुपतिमा रहेका दुई वटा विद्युतीय शवदाह गृहमध्ये एउटाको यन्त्र बिग्रिएको छ । हाल एउटा शवदाह गृह मात्र सञ्चालनमा रहेको सदस्य सचिव थापाले बताए ।
सोही स्थानमा थप चार विद्युतीय शवदाह गृह निर्माण गरी घाटमा आउने सबै शवलाई निःशुल्क दाहसंस्कारको व्यवस्था गर्ने तयारी गरिएको कोषले जनाएको छ । पशुपति आर्यघाटमा शवको दाहसंस्कार गरेबापत दाउराबाट जलाउने घाटमा १५ हजार र विद्युतीय शवदाह गृहमा चार हजार रुपैयाँ शुल्क तोकिएको छ ।
इच्छुक दाताका लागि स्वेच्छाले कोषको खातामा आर्थिक सहयोग गर्न चाहेमा विकल्प खुला राखिने कोषले जनाएको छ । थप विद्युतीय शवदाह गृह यन्त्र खरिदका लागि कोषले आफ्नै स्रोतबाट आठ करोड छुट्याएको छ ।
शवदाह गृह निर्माणपछि निःशुल्क सञ्चालनका लागि कोषले एक करोडको अक्षय कोष स्थापना गरेको कोषका प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिए । बैठकको अध्यक्षता संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री सुदन किराँतीले गरेका थिए ।