काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद एवम् अर्थविद् डा. स्वर्णिम वाग्लेले नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएकाहरू सबैलाई अनुसन्धानको दायरामा ल्याउनुपर्ने बताएका छन् ।
आइतबार काठमाडौंमा आयोजित नक्कली भुटानी शरणार्थीसम्बन्धी बहस कार्यक्रममा बोल्दै उनले सो प्रकरणमा मुछिएका सबैलाई प्रहरीको अनुसन्धानको दायरामा ल्याउन ध्यान दिनुपर्ने बताएका हुन् ।
उनले भने,‘नक्कली भुटानी शरणार्थी प्रकरणमा नाम आएकाहरू, पोलिएकाहरूलाई कम्तिमा सोधखोजका लागि चाहिँ ल्याउनुपर्यो । अहिलेनै अपराधी करार गर्ने होइन । तर नाम आइसकेपछि कम्तीमा पनि त्यो सोधखोजका लागि पनि ती नाम आएका पात्रहरू लिएर आउनु पर्छ । र, हाम्रो बल पनि त्यतैतिर हुनुपर्छ भन्ने लाग्छ ।’
सांसद वाग्लेले यो प्रकरणलाई ठगी, कीर्ते, मानव तस्करी, अन्तर्राष्ट्रिय संगठित अपराध र राजद्रोहमा तहको रूपमा लिनुपर्ने बताए ।
सांसद वाग्लेले भ्रष्टाचारको स्वरुप बदलिएर पैसाबाट शेयर हुँदै अहिले सुन र हिरामा परिणत भएको स्मरण गराए ।