News Griha :: न्यूजगृह
चितवनका विपन्न समुदायले पाए रेडिओ

चितवन— सूचनाको पहुँचमा सबै नागरिकलाई पुर्‍याउने उद्देश्यले चितवनको इच्छाकामना गाउँपालिकाले अतिविपन्न समुदायका परिवारलाइ रेडिओ वितरण गरेको छ  ।

पहिलो चरणमा वडा नं ५ का जौगैरा, ढुसघारी र भोटेस्वराका १५ जनालाई रेडिओ वितरण गरिएको छ । रेडिओ पाएपछि जौगैराका ६० वर्षीय कोतरा चेपाङले खुसी व्यक्त गरे ।

आर्थिक अवस्था कमजोर रहेका चेपाङले रेडिओबाट गीत–सङ्गीत, समाचार सुन्न पाउने भइयो भन्दै उनले गाउँपालिकाका जनप्रतिनिधिलाई धन्यावाद दिए ।

गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङका अनुसार गाउँपालिकाले यस आर्थिक वर्षमा मात्र एक सय रेडिओ वितरण गर्दैछ । सातवटै वडाका अतिविपन्न र सूचनाको पहुँचमा नभएका गाउँपालिकाका नागरिकलाई रेडिओ वितरण गरिने उनको भनाइ छ ।

अध्यक्ष गुरुङले भने,‘सूचना पाउनु नागरिकको अधिकार हो, कोही पनि नागरिक सूचनाको पहुँचबाट टाढा बस्नु हुँदै, यहाँका कतिपय नागरिक मोबाइल, इन्टरनेट, टेलिभिजन र रेडिओको पहुँचमा छैनन्, ती नागरिकलाई सूचनाको पहुँचमा ल्याउने हाम्रो लक्ष्य हो ।’

यहाँका ग्रामीण भेगमा सूचनाका लागि उपयुक्त माध्यम रेडिओ भएको उनको भनाइ छ । देश–विदेशका घटनाक्रम तथा गाउँपालिकाको गतिविधि एवम् सूचना जानकारी दिन तथा रेडिओ सुन्ने बानीको विकास हुने अध्यक्ष गुरुङको विश्वास छ ।

रेडिओ सुन्ने बानीको विकाससँगै रेडिओबाट प्रसारण हुने जनचेतनामूलक सूचना कार्यक्रमले नागरिकमा चेतनाको विकास हुने उनको भनाइ छ ।

प्रकाशित मिति: आइतबार, वैशाख ३१, २०८०  ०८:२२
Weather Update