News Griha :: न्यूजगृह
रविको लामिछानेको दाबी— शरणार्थी प्रकरण सामसुम पार्ने प्रयास हुँदैछ

काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले तीन ठूला दलका शीर्ष नेता मिलेर नक्कली शरणार्थी प्रकरण सामसुम पार्ने प्रयास भइरहेको बताएका छन्। 

शनिबार भक्तपुरमा कार्यकर्ताहरूलाई सम्बोधन गर्दै लामिछानेले तीन ठूला दलका शीर्ष नेताले नक्कली शरणार्थी प्रकरणको अनुसन्धान बिथोल्न लागि परेको दाबी गरे ।

लामिछानेले शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेका थिए । उक्त भेटमा पनि आफूले ठूला तीन नेता मिलेर नक्कली शरणार्थी प्रकरण सामसुम पार्न खोजिए चौथो दल रास्वपा चुप लागेर नबस्ने चेतावनी दिएको कार्यकर्तालाई सुनाए। 

‘मैले हिजो प्रधानमन्त्रीलाई भेटेर योसहितका भ्रष्टाचारका प्रकरणमा दह्रोसँग खुट्टा टेकेर छानबिन अघि बढाउन भनेको छु’, उनले भने, ‘तीन नेताहरू यसलाई मिलाउन लागेको देखिँदै छ, तर यदि त्यसो गरिएमा हामी आन्दोलन गर्न तयार छौँ।’

सम्बोधनका क्रममा लामिछानेले ठूला भ्रष्टाचार काण्डका दोषीलाई कारबाही गर्न सकेमा आफूले प्रधानमन्त्रीलाई सार्वजनिक रूपमा धन्यवाद दिन तयार रहेको पनि बताए। 

नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाई करोडौँ रकम ठगी गरेको आरोपमा पूर्वगृहमन्त्री बालकृष्ण खाणसहित १२ जना पक्राउ परेका छन्। पूर्वउप्रधानमन्त्री टोपबहादुर रायमाझी, एमाले उपाध्यक्ष रामबहादुर थापा बादलका छोरा प्रतीक र प्रहरी हिरासतमा रहेका डा. इन्द्रजित राईका छोरा निरज फरार छन्  । बादल गृहमन्त्री हुँदा इन्द्रजित सुरक्षा सल्लाहकार थिए ।  

प्रकाशित मिति: शनिबार, वैशाख ३०, २०८०  १०:१६
Weather Update