News Griha :: न्यूजगृह
किन भइरहेको छ जहाज ‘ओभरसुट’ ?

 काठमाडौं— २७ वैशाख २७ मा भारतको नयाँदिल्लीबाट आएको एअर इण्डियाको जहाजले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुनै लाग्दा ‘ओभरसुट’ गर्‍यो । 

 ‘मिस एप्रोच’ भएपछि उक्त जहाजले ओभरसुट गरेर सिमरामाथिको आकाशमा करिब एक घण्टा  ‘होल्ड’ भएर पुनः अवतरणको प्रयास गर्‍यो । जहाज अवतरण हुन नसकेपछि भारतको बनारस डाइभर्ट भएको विमानस्थल कार्यालयले जनाएको छ ।
     
त्यसदिन एअर इण्डियासहित अन्तर्राष्ट्रिय उडानका तीन जहाज भारतको वनारस र लखनऊ डाइभर्ट भएका थिए । फ्लाई दुबई र इन्डिगो एयरको जहाज पनि लखनउ डाइभर्ट भएको थियो । 

विमानस्थलका एक एअर ट्राफिक कन्ट्रोलरका अनुसार उक्त दिन ‘टेल वीन’ (पछाडिबाट लागेको हावा)का कारणले जहाज अवतरण समस्या आएको थियो । अन्तर्राष्ट्रिय उडानका ठूला जहाज धावनमार्गको दक्षिणतर्फबाट मात्रै अवतरण हुन्छ । दक्षिणतर्फ तीव्र गतिको हावा चलेकाले जहाज अवतरण हुन नसकेको विमानस्थलको भनाइ छ ।
     
त्यस्तै १६ वैशाखमा नयाँ दिल्लीबाटै काठमाडौँ आएको एअर इण्डियाको जहाजले ओभरसुट गरेको थियो । विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार उक्त जहाज ‘अनस्टेवल एप्रोच’ भएकाले ओभरसुट गरेको हो ।  

यसरी एक महिनामै एअर इण्डियाको जहाजले दुई पटक ओभरसुट गर्‍यो। जहाज अनस्टेवल एप्रोच भएर तथा कहिलेकाही एप्रोच प्रोफाइल नमिलेर, जहाज हाई अल्टिच्युड भएर आउँदा पनि ओभरसुट गर्नुपरेको विज्ञहरू बताउँछन् । जहाज ओभरसुट र होल्ड हुँदा सुरक्षाका हिसाबले निकै जोखिम हुने टिप्पणी हुँदै आएको छ तर, जहाज ओभरसुट र होल्ड हुँदा जोखिम नभई थप सुरक्षित हुने उनीहरूको भनाइ छ ।
     
नेपाल एअरलाइन्सका एक वरिष्ठ पाइलटका अनुसार ‘अनस्टेवल एप्रोच’ का कारण जहाजले ओभरसुट गर्छन । 'ओभरसुट सबभन्दा बढी सुरक्षित हो, ओभरसुटलाई त हामीले ‘इन्करेज’ गर्नुपर्छ', उनले भने, 'ओभरसुटलाई अनस्टेवलाइज एप्रोच भन्छ, ९० प्रतिशत धावनमार्गमा हुने दुर्घटना ओभरसुटकाकारण हुन्छन् ।'
     
नेपालमा ओभरसुटलाई नकारात्मक रुपमा लिने गरिएपनि संसारभर ओभरसुटलाई सकारात्मक रुपमा लिइन्छ, र सम्बन्धित मुलुकको ‘एभिएसनअथ्योरिटी’ले कारबाही गर्दैनन् तर, नेपालमा ओभरसुट भएपछि नियामक निकायले स्पष्टीकरण लिने गरेको ती वरिष्ठ पाइलटको भनाइ छ ।
     
जहाज अनस्टेवल एप्रोच भएर तथा कहिलेकाहीँ एप्रोच प्रोफाइल नमिलेर ओभरसुट हुन्छ । कहिलेकाहीँ धावनमार्गमा केही वस्तु देखिएमा पनि जहाज ओभरसुट गरिन्छ ।
     
१ वैशाख २०७९ मा भैरहवास्थित गौतमबुद्ध विमानस्थलमा परीक्षण उडान भरेर काठमाडौँ फर्किएको नेपाल एअरलाइन्सको ‘वाइड बडी’ जहाज अवतरण हुनै लाग्दा ओभरसुट गरेको थियो । पाइलटले धावनमार्गमा प्लास्टिकको सामान देखेपछि एटीसी टावरलाई जानकारी गराएर जहाज ओभरसुट गरी पुनः अवतरण गरेका थिए ।

जोखिम मोलेर अवतरण गर्नुभन्दा बढी सुरक्षित ओभरसुट गर्नु रहेको पाइलट बताउँछन् । विमानस्थलका प्रवक्ता सिटौलाको भनाइमा टीआइएमादक्षिणतर्फबाट मात्रै ठूला जहाज अवतरण हुने भएकाले जहाज होल्ड हुने र ओभरसुट हुनेगरेको छ । जसका कारण विमानस्थललाई चाप परेको छ । एअर ट्राफिक जाम पनि हुन्छ ।
     

ओभरसुट गरेको जहाजले एक राउन्ड लगाएर करिब २० मिनेटको समयावधिमा पुनः अवतरण गर्ने गरेको विमानस्थलले जनाएको छ । अन्तर्राष्ट्रिय उडानका जहाजले काठमाडौं विमानस्थलमा अवतरण गर्दा सिमरामाथिको आकाशबाटै एप्रोच लिने गरेका छन् ।

यसरी ओभरसुट भएका जहाजका कारण एप्रोचका लागि विभिन्न गन्तव्यबाट आइरहेका अन्य जहाज होल्डमा पर्छन् । यसले अन्तर्राष्ट्रिय विमानस्थलमा एअर ट्राफिक जाम पनि बढाउने गरेको छ । आन्तरिक उडानका जहाजलाई पनि चाप पर्छ । अहिले पनि अन्तर्राष्ट्रिय विमानस्थलमा दैनिक एक घण्टासम्म जहाज होल्ड हुने गरेका छन् । विमानस्थलको चापले आन्तरिक उडानका जहाजलाई पनि समस्या हुने गरेको छ ।
     
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टीआइए) अति व्यस्त विमानस्थलमा पर्छ । यो विमानस्थल स्थापनाको करिब ७२ वर्षपछि थप दुई अन्तर्राष्ट्रिय विमानस्थल भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा छन् । हाल मुलुकमा तीन अन्तर्राष्ट्रिय विमानस्थल छन् ।
     
कूल ९२ लाख यात्रु क्षमताको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई यात्रुको सङ्ख्या बर्सेनि बढिरहेको छ । यो विमानस्थलको विकल्पको रुपमा पनि गौतमबुद्ध विमानस्थललाई लिइएको थियो । उक्त विमानस्थलमा अत्याधुनिक उपकरणयुक्त छ । 

मौसम खराबी भएको अवस्थामा काठमाडौँ विमानस्थलमा अवतरण गर्न नसकेका जहाज भैरहवा विमानस्थलमा सहजै अवतरण गर्नसक्ने गरी यान्त्रिक प्रणाली जडान गरिएको छ । 

तथापि यो विमानस्थलको भरपुर उपयोग हुन सकेको छैन । काठमाडौं विमानस्थलमा अवतरण हुन नसकेका जहाज र होल्ड भएका कतिपय जहाजले गौतमबुद्ध विमानस्थल अवतरण गरेका हँुदैनन । डाइभर्ट भएका अन्तर्राष्ट्रिय उडानका जहाज अझै पनि भारतको बनारस, लगनऊ, कोलकात्ता जाने गरेका छन् । 

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बनेपछि टीआइएमा चाप कम हुने अनुमान गरिएको थियो । तर, तीन अन्तर्राष्ट्रिय विमानस्थल भएपनि टीआइएको उडान चाप उत्तिकै छ । दुई विमानस्थलले विजनेश पाएका छैनन् ।

     

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: शनिबार, वैशाख ३०, २०८०  ०६:१७
Weather Update