News Griha :: न्यूजगृह
विदेश पठाइदिने भन्दै ठगी गर्ने पक्राउ

काठमाडौं— प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले आकर्षक तलब पाउने लोभ देखाएर विभिन्न मुलुकमा पठाइदिने बहानामा लाखौँ रकम ठगी गर्ने व्यक्तिलाई उपत्यकाका विभिन्न स्थानबाट पक्राउ गरेको छ ।

दुबई पठाइदिन्छु भन्दै रकम ठगी गर्ने रसुवा घर भई काठमाडौंको वसुन्धारा बस्ने होमबहादुर तामाङ, माल्दिभ्स पठाइदिन्छु भनी ठगी गर्ने धुलिखेलका अञ्जन सिग्देल र सिङ्गापुर पठाइदिन्छु भनी ठगी गर्ने झापाका सिर्जन निरौलालाई पक्राउ गरिएको कार्यालयले जनाएको छ ।

सिङ्गापुर पठाइदिन्छु भन्ने निरौलाले ओमनाथ मैनालीसहित १२ जनालाई प्रतिव्यक्ति १४ लाख रुपैयाँ लाग्ने भनी पैसा उठाएका थिए । उनले मासिक चार लाख रुपैयाँसम्म तलब हुने भनी लोभ देखाएर रकम सङ्कलन गरेको खुलेको छ ।

पीडितहरूबाट ९५ लाख रुपैयाँ लिएर उनी फरार भएपछि पीडित प्रहरीमा आइपुगेका थिए । कार्यालयले उनलाई काठमाडौंको सिनामङ्गलबाट पक्राउ गरी वैदेशिक रोजगार विभागमा बुझाएको प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले बताए ।

यता सिग्देललाई जडीबुटीबाट पक्राउ गरिएको र थप कारबाहीका लागि वैदेशिक रोजगार विभागमा पठाइएको कार्यालयका प्रहरी उपरीक्षक रेग्मीले जानकारी दिए । यस्तै तामाङलाई भने काठमाडौंको बसुन्धाराबाट पक्राउ गरी कानुनी कारबाही अघि बढाइएको छ ।

प्रकाशित मिति: बिहीबार, वैशाख २८, २०८०  २०:०१
Weather Update