News Griha :: न्यूजगृह
पूर्वानुमानमा आधारित कार्यमा जोड दिन सरकारलाई विज्ञहरूको आग्रह

काठमाडौं— जनधनको क्षति कम गर्न पूर्वानुमानमा आधारित कार्यमा जोड दिन विज्ञहरूले सरकारसँग आग्रह गरेका छन् । २८ वैशाख (बिहिबार) मा आयोजित विपद् जोखिम न्यूनीकरणका लागि पूर्वानुमानमा आधारित कार्यसम्बन्धी दोस्रो राष्ट्रिय बहसको उद्घाटन सत्रमा विज्ञहरूले यस्तो बताएका हुन् ।

विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्का विज्ञ सदस्य डा.गंगालाल तुलाधरले विपद् व्यवस्थापनका समग्र कार्यहरू गर्नका लागि विज्ञानमा आधारित तथ्यहरू महत्त्वपूर्ण हुने र पूर्वानुमानमा आधारित कार्यले यस्तो उद्देश्यका लागि सहयोग गर्ने बताए ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अनिल पोखरेलले विज्ञानबाट प्राप्त तथ्यहरूलाई सबैले बुझ्ने भाषामा रुपान्तरण गर्नुपर्ने र ती सामग्री समुदायसम्म लैजान सञ्चारमाध्यमको उल्लेखनीय भूमिका हुने स्पष्ट पारेका छन् ।

उद्घाटन सत्रपछि बिहीबार चार वटा प्रस्तुतिकरण र प्यानल छलफल भएका थिए । पहिलो चरणमा बाढी तथा स्वास्थ्यसँग सम्बन्धित प्रकोपहरूबाट हुने क्षति कम गर्ने सम्बन्धमा छलफल भएको थियो ।

दोस्रो चरणमा भएका सत्रहरूमा पहिरोको जोखिम तथा लु एवम् शीतलहरबाट जनधनको क्षति कम गर्न पूर्वानुमानमा आधारित कार्यहरूबारे प्रस्तुतिकरण र प्यानल छलफल भएको प्राधिकरणले जनाएको छ ।

‘समुदायका लागि गरिने कार्यमा विज्ञान र नीतिलाई जोड्ने’ विषयवस्तुसहित सुरु भएको बहस शुक्रबारसम्म चल्नेछ ।

शुक्रबार पूर्वानुमानमा आधारित कार्यका लागि प्रभावकारी सञ्चार, पूर्वानुमानमा आधारित कार्यका लागि राष्ट्रिय सूचना प्रणाली, विपद् संवेदनशील सामाजिक सुरक्षा एवम् विपद् जोखिम वित्तीयतामाथि छलफल हुने बताइएको छ ।

प्रकाशित मिति: बिहीबार, वैशाख २८, २०८०  १८:५१
Weather Update