
काठमाडौं— कृषि तथा पशुपन्छी विकासमन्त्री डा. वेदुराम भुसालले नेपालमा हालसम्म कृषि ऐन नै नरहेको बताएका छन् ।
बिहीवार सिंहदरबारमा बसेको दिगो विकास तथा सुशासन समितिको बैठकमा उनले नेपाल कृषिप्रधान देश हो भन्ने गरेपनि हालसम्म कृषि ऐन नै नहुनु दुःखद् भएको बताए । उनले अहिले मन्त्रालयले कृषि ऐन बनाउनका लागि मस्यौदा तयार पारिरहेको उल्लेख गरे । उनले कृषि ऐन बनाउन सकेमात्रै पनि कृषि उपजका कतिपय समस्या समाधान हुने विश्वास व्यक्त गरे ।
‘भन्न त हामीले कृषिप्रधान देश भन्छौँ । कृषितन्त्र अर्थतन्त्रको मेरुदण्ड भन्छौँ तर, कृषि ऐन नै छैन, त्यो बनाउनुपर्छ भनेर छिटोभन्दा छिटो बनाऊँ भनेर मन्त्रालयबाट अघि बढाइरहेका छौँ । अघि बढ्दैछ, मस्यौदाको क्रममा छ, त्यसलाई ल्याउन सकेमात्रै पनि कतिपय कुराहरू स्पष्ट हुन्छन्,’ उनले भने ।
मन्त्री भुसालले आधुनिक समयमा पाखुराको बलमा खाद्यान्न उत्पानमा वृद्धि गर्छु भन्नु गलत भएको बताए । उनले जतिसक्दो धेरै यान्त्रीकरणमा गएर कृषि उत्पादन वृद्धि गर्न सकिने उल्लेख गरे ।
पछिल्लो समय जनशक्तिको अभाव देखिएको उनको भनाइ छ । जनशक्तिको अभावका कारण अहिले आधाभन्दा बढी खेतीयोग्य जमिन बाँझो रहेको उनले बताए । उनले तराईका ५० प्रतिशतभन्दा बढी खेतीयोग्य जमिन सिँचाइको सुविधा नहुँदा बाँझो रहेको उल्लेख गरे ।
मन्त्री भुसालले चिस्यान केन्द्र र बाँझो जमिन प्रयोगको प्रक्रिया मन्त्रालयले अघि बढाइरहेको पनि बताए ।